राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनिरहेका होटल, भवन र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरूको वैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘ललितपुरको बखुन्डोल हाइटमा १८ रोपनी जग्गामा विना नक्सा पास, विना ईआईए, विना स्थानीयको स्वीकृति १६ तले समिट अपार्टमेन्ट बनाइरहँदा वरपरको घरहरूमा क्षति पुगेकाे छ । वरपरका घरहरू भासिने, चर्कने क्रम जारी छ । स्थानीयले पटक–पटक उजुरी दिए पनि काम नरोकिएको गुनासो गरेका छन् । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु– यसरी देशभर बनाइरहेका होटल, भवन, अपार्टमेन्टहरूको वैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई यसको छानबिन प्रक्रिया अघि बढाइयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैदेखि सुरु गरियोस् ।’
सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनकाे कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिनुभयो ।

