काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान भएको मतदानमा कांग्रेसका सबै सांसदले मतदान गरेका हुन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि शुरु भएको मतदान बिहान १० बजेतिर सकिएको हो । आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ ले जनाएको छ ।
कांग्रेसका एक सांसद सुत्केरी भएकाले उनको मतपत्र शिलबन्दी गरेर ल्याइएको छ । सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराएका थिए ।
निर्धारित समयभन्दा ढिला गरी मतदान सुरु भएको थियो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन् ।
देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् । दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ । कांग्रेसका सांसद ८९ जना छन् ।
