काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएको बताएका छन् । आज (आइतबार) उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले सत्ता गठबन्धन सरकार गठन नजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताए ।
‘जनताले हामीलाई सरकार गठनको जनादेश दिएका छैनन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट त प्राप्त गरेको छैन, यद्यपि सरकारको गठन नजिक छ । तर, स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ’, उनले भने, ‘गठन्धनको प्रधानमन्त्री को भन्न सक्दैनन् । गठबन्धनको नीति, उद्देश्य के हो भन्न सकिरहेका छैनन् ।’
गठबन्धन राष्ट्रको चुनौती सामना गर्ने विषयमा असफल रहेको उनले बताए । गठबन्धन ‘स्वार्थहरूको झुण्ड’ भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनको टिप्पणी छ । पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको उल्लेख गरे । समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको उनले बताएका हुन् ।
अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर उनी ‘मेन अफ दी इलेक्सन’ बनेको पोखरेलले जिकिर गरे । ‘निर्वाचनमा हाम्रो अध्यक्षलाई चौतर्फी घेराबन्दी गरिएको थियो । तर, उहाँ मेन अफ दी इलेक्सन बन्नु भएको छ । धेरै मत ल्याएको निर्वाचित हुनु भएको छ’, उनले भने । एमाले धेरै जिल्लामा ‘क्लिन स्वीप’ गर्ने पार्टी बनेको समेत उनले बताए ।
