सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँ : एमाले सचिव विष्ट

बुटवल– नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार निर्माणका लागि आफूहरु अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्। जनादेश विपरीत सरकार निर्माणका लागि गैरसंसदीय गतिविधिमा नलाग्ने पनि उनको भनाइ छ। 

आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताए। आफूहरु जनमतको विपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधिमा नलाग्ने उनको भनाइ छ। 

‘हामी प्रतिपक्षमा बस्नका लागि जनताले स्थान प्रदान गर्नुभएको छ। हामी सरकार निर्माणको लागि अवाञ्छित गतिविधि गर्ने, गैर संसदीय, गैर लोकतान्त्रिक, अवाञ्छित, अशोभनिय काम गरेर सरकार निर्माण गर्ने प्रयत्नमा अल्झिदैनौँ,’ विष्टले भने, ‘नेकपा एमाले सरकारमा रहँदा होस्, चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्नेगरी लोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरी नै हामीले भूमिका निर्वाह गर्छौं।’

यद्यपि सरकार गठनका लागि बाध्यता आइलागेको अवस्थामा भने एमाले पछि नहट्ने सचिव विष्टको भनाइ छ। विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै विष्टले एमालेले जनचाहना विरुद्धका काम नगर्ने बताए। 

‘यदि आवश्यकता महसुस भयो भने, यदी हामीलाई त्यो प्रकारको जिम्मेवारी लिने बाध्यता भयो भने नेकपा एमाले जुनसुकै प्रकारको जिम्मेवारीसहित अगाडि बढ्न पनि पछि पर्दैन। तर सरकार बनाउने नाममा विगतमा कतिपय अवाञ्छित गतिविधिहरु, गैरसंसदीय गतिविधिहरु जनताका रुचि, आस्था, चाहाना विरुद्धका कामहरु हुने गर्दथे। त्यो प्रकारको बाटोमा नेकपा एमाले हिँड्दैन,’ विष्टले भने। 

उनले एमालेलाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका टिप्पणी गरे। नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि विष्टले टिप्पणी गरे। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा