काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको बताएका छन्।
रेशम चौधरीसहित टीकापुर प्रकरणमा जोडिएकालाई उन्मुक्ति दिन नेपाली कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याउने निर्णयको उनले विरोध गरेका हुन्।
यसबारे पार्टीभित्र समेत निर्णय नभएको बताएका छन्। उनले भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ। यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ।’
उनले असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत रहेको बताउँदै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।
अध्याादेशका बारेमा यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो असहमति प्रकट गरिसकेका छन्। शर्माको उक्त भनाइ शतप्रतिशत सही रहेको थापाले उल्लेख गरेका छन्।

