धनुषा–४ मा कांग्रेस यादवलाई पराजित गर्दै एमाले सचिव महासेठ विजयी

धनुषा – धनुषा क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका यादवले ३२ हजार ११२ मत ल्याएका छन् । फरक दलका दुवै हेभिवेट नेताद्वय महासेठ र यादव २०७४ सालको निर्वाचनमा पनि मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले महेन्द्रलाई पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत र महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए ।

यस पटक भने यो निर्वाचन क्षेत्रको राजनीतिक समीकरण भिन्न थियो । कांग्रेसका महेन्द्रलाई लोसपा र माओवादी केन्द्रको साथ थियो भने महासेठ एमालेका मात्रै उम्मेदवार थिए । यस क्षेत्रमा जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । यो क्षेत्रमा जसपा र एमालेबीच मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको छ ।

रघुवीर महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बनेका थिए । धनुषा– ५ बाट चुनाव जितेका नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रको उपनिर्वाचनमा भने महासेठ चुनाव जित्न सफल भएका थिए । चुनाव जितेर पहिलोपटक प्रतिनिधिसभामा पुगेका महासेठले त्यतिबेला सिञ्चाइ मन्त्री बन्ने अवसर समेत पाएका थिए ।

२०७० सालको निर्वाचनमा उनी पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा धनुषा– ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जिते । नेकपा एमाले र माओवादी एकीकृत भएर बनेको नेकपामा पार्टीको विधानविपरीत महासेठलाई स्थायी कमिटी सदस्य बनाएपछि विरोध पनि भएको थियो । पोलिटब्युरो सदस्य नै नभएको व्यक्तिलाई विधानविपरीत स्थायी कमिटी सदस्य बनाएको भन्दै मधेशका केन्द्रीय सदस्यहरूले विरोध गरे पनि उनी स्थायी कमिटी सदस्य रहिरहे । पछिल्लो हेटौंडा महाधिवेशनबाट उनी सचिव बने ।

रघुवीर महासेठ एमालेमा मधेशी समुदायबाट अहिले सबैभन्दा शीर्ष नेताका रूपमा स्थापित छन् । सिभिल इन्जिनियरिङमा स्नातक गरेका महासेठ एमालेभित्र मधेसी समुदायका सिनियर नेता मानिन्छन् । राजनीतिक जीवनमा झण्डै १८ महिना जेल बसेका महासेठ सिञ्चाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, उपप्रधान तथा परराष्ट्र मन्त्री भइसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा