सदरमुकामकै डोम बस्तीमा छैन चुनावी चर्चा

सप्तरी – राजविराज नगरपालिका– ९ मलेठका रमेश मरिकले एफएम रेडियोबाट आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारेको सूचना पाए पनि कसरी मत हाल्ने भन्नेमा उनी अन्योलमा छन् ।

गाउँदेखि सहरसम्म चुनावको चर्चाले व्यापकता पाइरहँदा डोम बस्तीमा भने अझै कुनै चुनावी चहलपहल छैन । त्यसका कारण मरिक आगामी निर्वाचनमा कुन उम्मेदवारलाई मत हाल्ने र कसरी मत हाल्नेमा अन्योलतामा परेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्न डोम बस्तीमा अहिलेसम्म उम्मेदवार तथा दलका नेता कार्यकर्ता नपुग्दा त्यस बस्तीका बासिन्दा बेखर जस्तै भएका हुन् ।

‘नत अहिलेसम्म कुनै नेता भोट माग्न आएका छन्, नत भोट कसरी हाल्ने भन्ने सिकाउन कोही आएका छन्’, मलेठस्थित डोम बस्तीका मरिकले भने, ‘रेडियो एफएमबाट चुनाबकाबारे खबर त पाएका छौँ, तर कसरी भोट हाल्ने भने हामीलाई केही थाहा छैन् ।’ सो बस्तीदेखि करिब एकसय मिटरपूर्वमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको सम्पर्क कार्यालय छ भने पाँचसय मिटर दक्षिणमा एमाले–जसपा तालमेलका उम्मेदवारको सम्पर्क कार्यालय छ । राजविराज–रुपनी सडक खण्डको छेउमै रहेको उक्त बस्तीमा सात घरपरिवार डोम समुदायको बसोबास छ । सुँगुरपालनसँगै बाँसको सामग्री बनाएर गुजारा गर्दै आएका डोम बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीलगायतका अवसरबाट वञ्चित छ ।

बिहान र बेलुकाको जोहो गर्न मजदुरी गर्नमै व्यस्त रहने ती बस्तीका बासिन्दा राजेश मरिकले भने, ‘पटक–पटकको चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठाए तर, कसैले आफूहरुको समस्या बुझ्न सकेको छैन ।’ त्यसैले आफूहरुको समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उनको भनाइ छ ।

निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू आफूहरुको बस्तीमा फर्केर नआउने गरेकामा यहाँका मतदाता दुःखी भएका छन् । मलेठस्थित आधारभूत विद्यालयसँगै टाँसिएको डोम बस्तीका डोम परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । फुसको छाप्रो हालेर बस्दै आएका त्यहाँका बासिन्दाले आफूहरुका लागि सुरक्षित घर बनाइदिने उम्मेदवारलाई यसपालि मतदान गर्ने बताएका छन् ।

‘हामीले मत दिएर नेताहरुलाई जिताएर पठाउँछौँ तर हाम्रो अहिलेसम्म नत उचित बासको व्यस्था हुन सकेको छ नत हाम्रो रोजगारीकै सुनिश्चितता हुन सकेको छ’, कारी मरिकले भने, ‘ हाम्रो भोट लिएर थुप्रै नेताहरु कुर्सीमा पुगे, तर हाम्रो समस्या ज्यूँका त्यूँ छन् ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा