ओली : जहाँ पुगे पनि मन्त्री बनाउँछौं भनेको सुन्छु, गठबन्धनले १६५ मन्त्री बनाउँछ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरु मन्त्री बनाउने झुटो आश्वासन बाँड्दै हिँडेको बताएका छन्। 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहाँ पुग्यो त्यहाँको निर्वाचन क्षेत्रको उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँडेको बताए। 

साथै उनले संविधानले २५ जना मात्र मन्त्री बनाउन मिल्ने हुँदा हुँदै पनि प्रचण्डले १६५ क्षेत्रमा मन्त्री बनाउने आश्वासन बाँडेको टिप्पणी गरे।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘म झुटो बोल्दिनँ। मन्त्री बनाउँछु भनेर कसैलाई भन्दिनँ। तर, म सुन्छु यहाँ आउने कुनै पार्टीका अध्यक्षले उसलाई पनि मन्त्री बनाउँछु भन्नुभएको छ। अर्को निर्वाचन क्षेत्रमा गयो, त्यहाँ पनि मन्त्री बनाउँछु भन्नुभएको छ। देशभरका १६५ क्षेत्रबाट निर्वाचितलाई नै गठबन्धनले मन्त्री बनाउने हो।’

उनले मन्त्री बनाउने पनि एउटा प्रक्रिया र निर्णय गर्ने शैली हुने भन्दै एमालेले बहुमत ल्याएर सरकार बनाउने भएकाले मन्त्री बनाउने झुटो आश्वासन नबाँड्न आग्रह गरे। 

उनले अलग–अलग घोषणापत्र लिएर निर्वाचनमा रहेका गठबन्धन कसरी पाँच वर्ष चल्छन् भन्दै प्रश्न गरेका छन्। सरकार बनेमा कसको घोषणापत्र लागू हुन्छ भन्दै गठबन्धनका नेताहरुलाई ओलीले प्रश्न गरे। पाँच वर्षको सरकार सञ्चालन र देश विकासका लागि एमालेले जित्नुपर्ने ओलीको भनाइ छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा