सन्दीपमाथिको आरोप : प्रहरी पुग्‍यो प्रमाण संकलनका लागि नगरकोट र काठमाडौंका होटल

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानका लागि प्रहरीले प्रमाण संकलनको काम सुरु गरेको छ।

मंगलबार प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले आफूमाथि लामिछानेले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले प्रमाण संकलनको काम सुरु गरेको हो।
 
जाहेरीमा किशोरीले उल्लेख गरेको नगरकोटको एक रिसोर्ट र काठमाडौं पिंगलास्थानको एक होटलमा पुगेर प्रहरीले प्रमाण संकलनको काम सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार भक्तपुरको नगरकोटस्थित राति ११ बजेसम्म सन्दीप र ती किशोरी बसेको भनिएको रिसोर्टमा पुगेर प्रहरीले सोधपुछको काम सुरु गरेको छ। 

लामिछाने उक्त रिसोर्टमा आएका हुन्/होइनन्, उनी कोसँग आएका थिए, के–के खाए, त्यहाँ कति समय बसेर उनीहरु फर्किए जस्ता विषय प्रहरीले रिसोर्टमा कार्यरत व्यक्तिहरुसँग सोधपुछ गरेको छ। उक्त रिसोर्टमा सिसी टिभी भए त्यसदिनको फुटेज हेर्नदेखि उनीहरुको इन्ट्री रजिष्टर हेर्नेसम्मका कामहरु प्रहरीले गर्नेछ।
 
त्यसैगरी, यता काठमाडौंमा रहेको एक होटलको ३०५ नम्बर कोठामा बलात्कार भएको भनेर जाहेरीमा उल्लेख गरिएको थियो। उक्त होटलमा पुगेर पनि प्रहरीले अनुसन्धानको काम सुरु गरेको छ। होटलमा उनीहरु बसेका थिए/थिएनन्, होटलमा भएको सिसी क्यामेरा फुटेज हेर्ने, होटल सञ्चालक तथा कर्मचारीसँग सोधपुछ लगायतका काम प्रहरीले सुरु गरेको छ।

भदौ ५ गते राति काठमाडौंको एक होटलमा राखेर लामिछानेले आफूमाथि बलात्कार गरेको किशोरीको भनाइ छ। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ। सन्दीपले  उक्त आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा