खाना नपाएको निहुमा आफ्नै श्रिमतीलाई लगाए आगो

काठमाडौं –  खाना नपकाएको झोकमा कपनमा श्रीमानले श्रीमतीलाई आगो लगाई दिएका छन् । आगोबाट जलेकी ३० वर्षीया अस्मिता चौधरीलाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको छ । प्रहरीका अनुसार शुक्रबार राति ९ बजेको समयमा प्रबिनले श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए ।

घटनामा संलग्न सिराहा लहान नपा-७ का ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । खाना नपकाई सुतेको भेटिएपछि उनलाई प्रबिनले तारपिनको तेल खन्याई आगो झोसेका थिए । आगो दन्किन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेका प्रहरीले अस्मितालाई घाइते अवस्थामा फेला पारेका थिए । घटनामा संलग्न प्रबिनलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले आगो लगाउने प्रबिनलाई पक्राउ गरिएकोे बताए । उनले भने, ‘घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही हुन्छ ।’

प्रहरीका अनुसार प्रबिन कामबाट शुक्रबार साँझ डेरा फर्केका थिए । श्रीमती भने सुतिरहेकी थिइन् । भाँडामा खाना नभेटाएपछि प्रबिन रिसले चुर भए । यही झोंकमा उनले श्रीमतीको शरीरमा तारपिनको तेल खन्याएका थिए । त्यसलगत्तै सलाइ कोरेर आगो झोसेका थिए । आगो दन्किन थालेपछि अस्मिता चिच्याएकी थिइन् । आगोको धुवाँ उडेको र चिच्याएको सुनेपछि आगलागी भएको भन्दै छिमेकी उनीहरूको डेरा पुगेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा