काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताए ।
‘परिवर्तनको प्रमुख संवाहक माओवादी हो । तर, आक्रमक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौं । हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौं’, उनले भने ।
उनले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए । ‘महत्पूवर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ । हाम्रो पार्टीले त्यसरी आत्मासात् गर्न सकेको छैन’, उनले भने, ‘विधानमा केही संशोधन गरिएको छ । केन्द्रमा प्रतिनिधित्व नयाँ ढंगले गराइन्छ ।’
माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे । उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलको आवश्यक्ता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए । राष्ट्रमा भएका साधन-स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको उनले बताए ।
