काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन-लक्षित अभियान ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ बारे जानकारी दिन आज (बुधबार) पत्रकार सम्मेलन गर्ने भएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो ३ बजे पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आउँदो वैशाख ३० का लागि तोकिएको स्थानीय तहको चुनावमा आफ्नो पार्टीका पक्षमा जनमत तान्न कांग्रेसले यह फागुन २९ गते ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्न लागेको हो ।
त्यसका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । उनीहरूलाई फागुन २७ गतेभित्र खटाइएको जिल्लामा पुग्न निर्देशन दिइएको छ । जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरूलाई अभियान शुरु हुनअघि र शुरु भइसकेपछि अनिवार्य रुपमा सबै स्थानीय तहमा पुग्न भनिएको छ ।
