काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आज (आइतबार) को बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका नेताहरूको बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता सम्बन्धमा निणर्य लिने बताइएको छ । एमसीसी संसद्बाट अनुमोदन गराउन नेताहरू जुटेका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
त्यसअघि, बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यस बैठकले संसद्को कार्यसूची तय गर्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । अमेरिकाले संसद्बाट एमसीसीको विषय टुंगो लगाउन दिएको समयसीमा भोलि सकिँदै छ ।
