काठमाडौं- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह बनेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारीका नेताहरुलाई खुमलटार बोलाएर नयाँ अध्यक्ष सिंहलाई बनाउने निर्णय सुनाएका हुन् ।
सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्द सत्र चलिरहेको प्रज्ञा भवन पठाइएको छ । अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा निकट सिंह क्रान्तिकारीमा पहिलो महिला अध्यक्ष पनि भएकी छन् । गत बिहीबारदेखि राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन् । यद्यपि यसको औपचारिक घोषणा राष्ट्रिय सम्मेलनस्थलबाट गरिने छ ।
क्रान्तिकारीको सम्मेलन नयाँ नेतृत्वको टुंगो लगाउँदै आइतवार सकिँदैछ । सिंह लगायत पदाधिकारीको नाम मध्यान्ह १२ बजे हुने बन्द सत्रमा पेस हुँदैछ । ‘पञ्चा सिंहलाई अध्यक्ष बनाउने निर्णय पार्टी अध्यक्ष प्रचण्डले गर्नु भएको छ’, स्रोतले भन्छ, ‘हरु पदाधिकारीबारे निर्णय पनि भएको छ । मध्यान्ह १२ बजेदेखि शुरु हुने बन्द सत्रमा तीन नाम पेश हुनेछन् ।’

