अमेरिकाले प्रशान्त महासागमा २५ देशहरूसँग मिलेर जलसेना अभ्यास गर्ने
एजेन्सी – चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले २५ देशहरूसँग मिलेर प्रशान्त महासागरको हवाईमा संसारको सबभन्दा ठूलो जलसेना अभ्यास गर्ने भएको छ ।
रिमप्याक नामक यस अभ्यासमा यसपालि चीनलाई निमन्त्रण गरिएको छैन । ताइवानलाई चाहिँ यस युद्धाभ्यासका लागि निमन्त्रण गरिएको छ ।
ताइवानलाई युद्धाभ्यासमा संलग्न गराउँदा चीन क्रुद्ध हुने प्रबल सम्भावना छ । अगस्ट महिनाको १७ देखि ३१ तारिखसम्म हुने अभ्यासमा २५ देशका जलसेनाले पारस्परिक सहयोग र युद्धका नयाँ रणनीति सिक्नेछन् ।
कोरोनाभाइरसका कारण यो अभ्यास सागरमा मात्र गरिने अमेरिकी जलसैनिक फ्लीटका कमान्डरले बताए । फरक फरक देशका सैनिकलाई भौतिक दूरी कायम गराउन यो निर्णय लिइएको हो । यसक्रममा कुनै पनि सेमिनार आयोजना गरिने छैन ।
अमेरिकी कमान्डरले सन् २०१८ मा यस जलसैन्य अभ्यासमा भाग लिने देशलाई पुनः आमन्त्रण गरिएको बताए ।
दक्षिण चीन समुद्र र कोरोनाभाइरसको विषयमा बढिरहेको तनावका कारण चीनलाई यसपालि युद्धाभ्यासका लागि निमन्त्रित नगरिएको हो । सन् २०१८ को रिमप्याकमा चीनलाई निमन्त्रण गरिएको थियो तर पछि अमेरिकाले फिर्ता लियो ।
युद्धाभ्यासमा मल्टीनेसनल एन्टी सबमरिन वार, म्यारिटाइम इन्टरसेप्ट अपरेसन, लाइभ फायर ट्रेनिङ इभेन्ट सहित अनेकौं प्रशिक्षण दिइनेछ ।
प्रतिकृया दिनुहोस्