April 14, 2021, Wednesday
२०७८ बैशाख १, बुधबार
KN hd tv

सेयर बजारको उतारचढाव

काठमाडौँ – कोरोनाको कारणले २०७६ चैत्र १० गतेबाट बन्द रहेको सेयर बजार पहिलो पटक २०७७ वैशाख २९ मा सुरु गर्दा दुई दिन निरन्तर ओरालो लागेसँगै फेरि बन्द गरियो । असार १५ बाट फेरि सञ्चालनमा ल्याइयो । त्यसदिन १ हजार १ सय ८८ दशमलव १५ विन्दुमा रहेको सेयर बजारले सामान्य उतारचढाव सहित निरन्तर उकालो लाग्दै दुई वर्ष अगाडिको उचाइको इतिहास तोड्दै २ हजार ७१ दशमलब ०३ विन्दुसम्मको नयाँ इतिहास रच्यो । कोरोनाको सुरुवाती समयमा रन्थनिएर पछारिएको सेयर बजार हाल विश्वभरिनै उच्च अंकले वृद्धि भइरहेको सन्दर्भमा नेपालमा पनि यो उचाई असान्दर्भिक होइन ।

एकातर्फ सेयर लगानीमा पाँच महिनामा ७४.३ प्रतिशतको लाभ भएको छ । अर्कोतर्फ, निक्षेपमा घट्दो ब्याज र वैकल्पिक लगानीको अवसरको अभावले सेयर बजारले नवप्रवेशीलाई राम्रै आकर्षित गर्यो । त्यसमाथि सेयर किनबेच, भुक्तानी र राफसाफ जस्ता कार्यहरु अनलाइन माध्यमबाट सहज रुपमा गर्न सकिने अवस्था रहेको र यसबाट कोरोनाको जोखिम नरहेको कारणले अनलाइन सेयर कारोबार प्रयोगकर्ताको उल्येख्य वृद्धि भयो । समग्र बजारको यो उचाई र दैनिक कारोबार रकममा भएको वृद्धिमा यिनै तत्वको विशेष भूमिका रहेको छ ।

कुनै पनि सेयरको सैद्धान्तिक मूल्य निर्धारण ‘गोर्डनको लाभांशमा स्थिर वृद्धिदरको मोडल’ सबैभन्दा बढी प्रचलित छ । यो मोडल अनुसार अनन्तः भविष्यसम्ममा प्राप्त हुने लाभांशसँग त्यो समयको प्रचलित ब्याजदर घटाउँदा आउने फरकको जोड नै त्यो सेयरको स्वभाविक सैद्धान्तिक मूल्य हो । 

यस्तो सैद्धान्तिक मूल्य वास्तविक बजार मूल्य भन्दा बढी भएमा यस्तो सेयरको माग बढ्छ र कम भएमा माग घट्छ । वास्तविक मूूल्य आफैंमा भविष्यमा प्राप्त हुने लाभांश र भविष्यमा रहन सक्ने ब्याजदरको प्रक्षेपणमा आधारित हुन्छ । आज उपलब्ध रहेका सूचनाको आधारमा यसको आकलन गरिन्छ । यस्तो आकलन व्यक्ति अनुसार फरक फरक हुने हुँदा सबै व्यक्तिसँग आ–आफ्नो वास्तविक मूल्य हुन्छ, जुन एकअर्कामा फरक फरक हुनसक्छ । त्यसैले एउटै मूल्यमा कसैले किनिरहेको हुन्छ भने कसैले बेचिरहेको पनि हुन्छ । तर, किन्ने र बेच्ने व्यक्ति दुबैले आफूलाई त्यतिकै विवेकशील पनि मानिरहेको हुन्छ । 

समग्र आर्थतन्त्रको अवस्था, सम्बन्धित क्षेत्रको अवस्था, कम्पनीको अवस्था र लगानीकर्ताको मनस्थितिले सेयर बजारको मूल्यमा प्रभाव पारेका हुन्छ । हाल नेपालमा सामान्य अवस्था सरहको विप्रेषण आप्रवाह भइरहेको छ । गैरखाद्य पदार्थ खर्चमा उल्लेख्य कटौती भएको छ, आयात खुम्चिएसँगै वृद्धि भएको शाधनान्तर बचतले बैंकिग क्षेत्रमा प्रशस्त तरलता उपलब्ध रहँदा ब्याजदर घटेको छ ।

नेप्सेमा सूचीकृत क्षेत्रहरुमध्ये जलविद्युत् बाहेक अरु सबै कोरोनाको मारमा परेका छन् । यो वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति हेर्दा प्रायः सबै कम्पनीको मुनाफा गत वर्षको तुलनामा घटेको छ । कोरोनाले प्रभाव न्यून हुनुपर्ने दूरसञ्चार क्षेत्रमा समेत नाफा घटेको छ ।

अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या भने उल्लेख्य रुपमा बढेको छ । यो अवस्थामा घट्दो ब्याजदर, स्वचालित अनलाइन कारोबार र बढ्दो लगानीकर्ताको संख्याले सेयर बजारलाई पछिल्लो समय माथि धकेल्दै लगेको छ । यद्यपि क्षेत्रगत प्रतिफल र कम्पनीको कार्यसम्पादनको अवस्थाले मूल्यलाई रोक्न खोजेको जस्तो पनि देखिन्छ । 

यद्यपि बजारलाई तत्काल भन्दा पनि भविष्यमा हुने आम्दानीले बढी प्रभाव पार्ने हुन्छ । कोरोना खोपको सफल परीक्षण भैसकेको अवस्थामा कम्पनीहरु विस्तारै पुरानै लयमा फर्कनसक्ने र फेरि राम्रो प्रतिफल दिन्छन् भन्ने आशा सबै लगानीकर्तामा पलाएको देखिन्छ । होटल उद्योगको सूचकांकमा देखिएको उचाईमा यो आशा झनै बढी  रहेको पाइन्छ । 

कोरोनाको मारबाट थलिएको अर्थतन्त्रलाई उकास्न कहाँबाट सुरु गर्ने भन्ने अनिश्चितताको बीचमा सेयर बजारले आफूलाई अग्रस्थानमा उभ्याइसकेको छ । दीर्घकालीन र ठुलो मात्रामा पूँजी परिचालनको लागि सेयर बजार एउटै विकल्प हो । नेपालजस्तो थोरै आँटिला उद्योगी भएको मुलुकमा सेयर बजारको आवश्यकता अझै बढी छ । कम्पनी स्थापना गरी उद्योगलाई सफल रुपमा सञ्चालनमा ल्याउन उद्योगीको भरपुर मिहिनेत चाहिन्छ । 
उद्योग व्यवसायिक रुपमा सफल हुने बेलासम्म उद्योगले थुप्रै कुशल व्यवस्थापक तयार गरिसकेको हुन्छ । र, उक्त उद्योगी नरहँदा पनि उद्योग सफल सञ्चालन हुनसक्ने अवस्थामा गइसकेको हुन्छ । यस्तो अवस्थामा उक्त उद्योगीलाई आफूसँग भएको सेयरलाई बजारमा बिक्री गरेर वा थप नयाँ सेयर जारी गरेर पुनः अर्को उद्योग स्थापनामा लगाउन सके त्यस्ता उद्योगीहरुले आफू बाँचुन्जेल नयाँ नयाँ उद्योग स्थापना गरी राख्ज सक्छन् । सीमित उद्योगीले सुरु गरेका विश्वका बहुचर्चित ठुला कंग्लोरोमेट्सहरुको विकासमा सेयर बजारको प्रमुख भूमिका रहेको छ । 

सेयर बजारले उचित गति नलिदाँ हिजोको दिनमा कतिपय सेयरको प्राथमिक निष्काशन पूर्ण रुपले बबक्री नहुने अवस्था आएको थियो । आज त्यस्तै प्रकारको सेयरमा बीसौं गुणा आवेदन पर्ने अवस्था आएको छ । हिजोको दिनमा सेयर कारोबार रकम सानो हुँदा ठुलो संख्यामा सेयर बिक्री गर्नुपर्दाे मूल्य अत्याधिक तल जाने अवस्था थियो । त्यसैले सेयर बजारको सम्पत्तिलाई तरल सम्पत्ति नमान्ने अवस्था थियो । बैंक निक्षेपलाई तरल सम्पत्तिको रुपमा लिएर लगानी गर्ने अवस्था थियो । 

अहिले कारोबार रकममा आएको उल्लेख्य वृद्धिले सेयरलाई तरल सम्पत्तिको रुपमा प्रयोग गर्नसक्ने अवस्था देखिएको छ । यसले ब्याजदरमा हुने अत्याधिक उतारचढावलाई न्यूनीकरण गर्न मद्दत पनि गर्छ । त्यसो त, सेयर बजारको विकास पूँजी परिचालनको आधारमात्रै होइन आर्थिक स्थायित्व कायम गर्ने औजार पनि हो । यसअर्थमा अहिलेको परिसूचक र कारोबारलाई सकारात्मक मान्न सकिन्छ । 

नयाँ लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धिसहित हासिल भएको नेप्सकोे ऐतिहासिक सफलतालाई दीगो बनाइराख्न सबै नियामक निकायले उचित भूमिका खेल्नुपर्ने आवश्यकता छ । बजार पूँजीकरण घट्नु आफँैमा राज्यलाई हानी हो । राज्यलाई राजस्वको आवश्यकता हुन्छ । सेयर बजारबाट भएको आर्जनले थोरै भएपनि कोरोनाले मारमा परेका उद्योगको माग बढेको अवस्था छ । प्राथमिक बजारका २२ लाख डिम्याट खातावालाको संख्यालाई आधार मान्दा नेपाली बजारले २०÷३० अर्ब सम्मको लगानी सहजै जुटाउनसक्ने क्षमता समेत हाम्रो बजारको भइसकेको छ । तसर्थ, सुधारका प्रयास जारी राख्दै सेयर बजारमा स्वस्थ प्रतिस्पर्धात्मक प्रणाली विकास गर्न सक्ने हो भने राज्य निमार्णको यसले ठुलो योगदान दिनसक्छ । 

धितोपत्र बोर्डको मुख्य उद्देश्य लगानीकर्ताको संरक्षण गर्दै पुँजीबजारलाई पारदर्शी एवं स्वस्थ बनाउँदै कारोबार लागत घटाउने हो । बोर्डको अर्को प्रमुख भुमिका भनेको धितोपत्र बजारमा आउनसक्ने प्रणालीगत हानी न्यूनीकरण गर्नु पनि हो । नेपालमा सेयर कारोबार रकममा भएको वृद्धिले लागत घटाउने अवसर प्रदान गरेको छ । ढिलै भएपनि बोर्डले बजारमा हुनसक्ने अप्रत्यासित कारोबार नगर्न र कम्पनी मूल्यांकनलाई प्राथमिकता दिन आह्वान गर्यो । यो बजारलाई प्रतिस्पर्धी बनाउन लगानीकर्ता आफैं तत्पर रहेको एउटा उदाहरण हो । 

प्राथमिक निकासन आवेदनकर्ताको संख्या हेर्दा सेयर बजारलाई पुँजी परिचालनमा प्रयोग गरी राज्यलाई औद्योगिकरणको दिशामा लम्काउने अवसर सिर्जना भएको छ । तिनै आवेदक आफ्नो सेयर बेच्न कम्तीमा एकपटक दोस्रो बजार छिर्नैपर्ने भएकोले पनि नेपालको दोस्रो बजार विस्तार हुने निश्चित नै छ । 

सबै सूचीकृत कम्पनीको वित्तीय विवरण निश्चित समयमा धितोपत्र बजार (नेप्से) को आधिकारिक वेभसाइटमा भेट्टाउन सकिँदैन । तर, तिनै विवरण मिडियाहरुमा भने तत्काल पाउन सकिन्छ । समयमा वित्तीय विवरण प्रकाशन नहुँदा केही निश्चित समुहले सूचना चुहाएर सस्तोमा किन्ने र वित्तीय विवरण प्रकाशित भएपछि बढी मूल्यमा बेच्ने गरेको समेत सुन्न पाइन्छ । धितोपत्र बोर्ड र नेप्सेले समान रुपमा सूचना पाउने हकलाई स्थापित सकेको अवस्थामा बजारमा स्वस्थ बन्नसक्छ । 

नेप्से, स्टक डिलर, धितोपत्र दलाल, धितोपत्र तथा धितोपत्र कारोबारको प्रत्यक्ष नियमन र आधुनिकीकरण गर्दै पुँजीबजार विकास गर्नु धितोपत्र बोर्डको मुख्य उद्देश्य हो । यसमा अन्य नियामकीय निकायको भूमिका सहायक हुन्छ । अन्य नियमकीय निकायको भूमिका प्रायः सेयर बजारको विकासलाई साथ दिने भए्पनि कुनै अवस्थामा त्यस्तो नहुन पनि सक्छ । 

बीमा समितिको प्रमुख भुमिका बीमितको संरक्षण गर्नु हो । संस्थामा पूँजी लगानी गर्ने लगानीकर्ता र बीमा पोलिसी खरिद गर्ने बीमक दुवैको हित हुनेगरी बीमा समिति लागिपरेको हुन्छ । त्यस्तै, बैकं तथा वित्तीय संस्थाका र त्यहाँका निक्षेपकर्ताहरुको संरक्षण गर्नु नेपाल राष्ट्र बैंकको प्रमुख दायित्व हो । राष्ट्र बैंकले पनि वित्तीय संस्थाहरुको स्थायित्वलाई नै मुख्य उद्देश्य मानेर आफ्ना नीति नियमहरु निर्धारण गर्ने गर्छन् । यसो गर्दैगर्दा कहिले यसले पुँजीबजारलाई प्रत्यक्ष रुपमा सहयोग गर्छ भने कहिले नगर्न पनि सक्छ । तर वित्तीय स्थायित्वले दीर्घकालमा भने पुँजी बजारमै स्थायित्व ल्याउन मद्दत गर्छ । 

असल धितोले ऋण खराब हुुनबाट जोगाउने हुँदा वित्तीय संस्था संरक्षणका बासेल नियमले असल धितोमा राम्रै जोड गरेका छन् । २००८ को वित्तीय संकटबाट पाठ सिक्दै सेयर धितोमा प्रवाह हुने कर्जा मूल्यांकनका आधारमा बासेलमा केही कठोरता अपनाइएको छ । यो कठोरताले विश्वका सेयर बजार थप सुदृढ भइ कोरोनाकालसम्म आइपुग्दा राम्रै उचाई हासिल गरेको अवस्था थियो । 

वित्तीय संस्थाको प्रभुत्व रहेको नेपालको सेयर बजारमा वित्तीय सस्था सबल रहँदामात्र लगानीकर्ताको लगानी सुनिश्चित राख्न सकिन्छ । नियामकीय निकायले आफू मातहतको संस्थालाई थप सबल बनाउँदै लगानीकर्ताको लगानी सुरक्षित बनाउने प्रमुख भूमिका निर्वाह गरेका हुन्छन् । अन्ततः सेयर बजारको उचित विकासमा नियमकिय निकायको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रमूख भूमिका रहेको हुन्छ । 

सेयर बजारले औद्योगीकरणको विस्तारलाई सहयोग गर्ने मात्र नभएर यसको प्रतिफललाई आम जनता सम्म पुर्याउने काम पनि गर्छ । कम्पनीको वित्तीय विवरण, सुशासन र आगामी रणनीतिसहितका सूचना लिई लगानी गर्दा सुरक्षित हुने हुँदा लगानीकर्ताको सूचना समान हक स्थापित गर्न नियामकहरु अब लाग्नुपर्ने देखिन्छ । सेयर बजारलाई थप आधुनिकीकरण गर्दै कारोबार लागत घटाउने र थप सुरक्षित बनाउने जिम्मा सबै नियमक निकायको हो । 

सेयर बजारमा लगानी गर्ने व्यक्तिहरुको ज्ञानको स्तर आम मानिस भन्दा धेरै रहने तर्क विश्वभरिनै गरिन्छ । सुसूचित भई लगानी गर्दा सेयर बजार राम्रो अवसर हो । तर, कम्पनीको आम्दानी क्षमता, भावी रणनीति, वर्तमान मूल्य र वास्तविक सैद्धान्तिक मूल्यलाई विचार नगरी लगानी गर्दा यसमा उत्तिकै जोखिम पनि हुनसक्छ । लगानीकर्ताको हितमा नियामक निकाय प्रतिबद्ध रहने हुँदा यस्ता निकायले गरेको प्रयासबाट हतोत्साहित हुन आवश्यक छैन ।

(राष्ट्र बैंकका उपनिर्देशक पौडेलको यो व्यक्तिगत विचार हो । यसले  लेखकसँग सम्बन्धित संस्थाको विचारलाई प्रतिनिधित्व गर्दैन ।)