पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा आपराधिक गतिविधि तथा सीमा तस्करीविरुद्ध आक्रामक कारबाही गर्दै २४ जना लागुऔषध कारोबारीलाई हत्कडी लगाएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका ७५ लाख ४४ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार असोजमा लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्नविरुद्ध १६ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । अभियुक्तहरूको साथबाट ३८ किलो गाँजा, १७१ ग्राम ब्राउन सुगर र १४ ग्रामभन्दा बढी अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै, अवैध हातहतियार नियन्त्रणतर्फ ५ थान हतियार तथा ६ राउन्ड गोली बरामद गरिएको छ । अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत लामो समयदेखि फरार रहेका १०३ जना प्रतिवादीलाई पक्राउ गरी २ करोड ७१ लाख रुपैयाँभन्दा बढी जरिवाना र करिब ४१ वर्ष कैद भुक्तानका लागि अदालत पेश गरिएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
प्रहरीले असोज महिनामा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न १९ वटा ट्याक्टर नियन्त्रणमा लिनुका साथै ४ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको छ । सीमा नाकामा कडाइ गरिएसँगै राजस्व चुहावट र लागुऔषध ओसारपसार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको प्रहरीको दाबी छ ।

प्रतिकृया दिनुहोस्