October 19, 2026, Monday
KN hd tv

रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका पछिल्ला कडा प्रतिबन्धहरू कार्यान्वयन नगर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । युद्धविराम तथा शान्ति वार्ताको ढोका खुला राख्नका लागि मस्कोमाथिका प्रतिबन्धहरू ६० दिनका लागि स्थगित गरिएको अमेरिकी प्रशासनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि दुवै पक्ष वार्तामा बस्नु अनिवार्य रहेको र मस्कोलाई दबाब दिएर वार्ताबाट टाढा धकेल्न नहुने तर्क गरेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगतमै अनुकूल शान्ति सम्झौता गर्ने अवसर गुमाएको टिप्पणी समेत गरेका छन् । यता रुसी कूटनीतिज्ञहरूले भने ट्रम्पको यो कदमलाई स्वागतयोग्य र महत्त्वपूर्ण क्षण भनेका छन् ।

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकी नीतिको चर्को विरोध गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक र आर्थिक छुट दिनु भविष्यका लागि खतरनाक गल्ती हुने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । रुसले आक्रमण जारी राखेको अवस्थामा प्रतिबन्ध खुकुलो पार्दा न्यायपूर्ण शान्ति सम्भव नहुने युक्रेनको ठहर छ ।

पछिल्लो समय अमेरिकाले घरेलु इन्धनको मूल्य सन्तुलनमा राख्न रुसी डिजेल खरिद गर्ने तयारी र किएभलाई उपलब्ध गराइएको सैन्य-प्राविधिक सहयोगमा आएको फेरबदलका कारण अमेरिका र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । विश्व समुदायले वासिङ्टनको यस कूटनीतिक बदलावलाई नजिकबाट नियालिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको