October 19, 2026, Monday
KN hd tv

काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार

काभ्रे । बीपी राजमार्ग खण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रोबस दुर्घटनामा परेको छ । इलामबाट काठमाडौँतर्फ गुडिरहेको बा ३ ख ८३५९ नम्बरको यात्रुवाहक हाइस सडकबाट करिब २५० मिटर गहिरो भीरमा खस्दा तीन जना यात्रु घाइते भएका हुन् ।

घटनालगत्तै भकुण्डेबेँसी क्याम्पबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी र स्थानीय सुरक्षाकर्मीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको थियो । रातको घोर अन्धकार र भिरालो खोँचमा घाइतेहरूको खोजी गर्न सेनाले थर्मल क्यामेरा जडित ड्रोनको प्रयोग गरेको थियो ।

गम्भीर उद्धार प्रयासपछि भीरबाट निकालिएका घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्स प्रयोग गरी धुलिखेल अस्पताल पुर्‍याइएको छ । चिकित्सकहरूका अनुसार घाइतेहरूको उपचार जारी छ ।

गाडी अनियन्त्रित हुनुको यकिन कारण खुल्न सकेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी दुर्घटनाको कारणबारे विस्तृत छानबिन सुरु गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको