October 17, 2026, Saturday
KN hd tv

सुडानमा सुनखानी भत्किँदा ६० मजदुरको ज्यान गयो, दर्जनौँ बेपत्ता

काठमाडौँ । उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानको पश्चिम कोर्डोफान प्रान्तस्थित एक परम्परागत सुनखानी दुर्घटना हुँदा कम्तीमा ६० जना मजदुरको मृत्यु भएको छ। एल-नाहुद सहर नजिकै रहेको अल-जारा सुनखानी अचानक भत्किएसँगै ठूलो मानवीय क्षति भएको हो। दुर्घटनास्थलबाट हालसम्म ६० वटा शव बाहिर निकालिएको छ भने भग्नावशेषमा अझै धेरै मजदुर पुरिएको आशंका गरिएको छ।

घटना लगत्तै सुरु गरिएको उद्धार कार्यमा आधुनिक उपकरणको अभावका कारण कठिनाई उत्पन्न भएको स्थानीय उद्धारकर्मीहरूले बताएका छन्। रातभर चलेको उद्धार अभियानका क्रममा केहीलाई जीवितै उद्धार गरिए पनि अधिकांशको अवस्था अझै अज्ञात छ। सन् २०२३ को अप्रिलदेखि जारी गृहयुद्धका कारण देशको अर्थतन्त्र र नियमन प्रणाली तहसनहस हुँदा मजदुरहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुँदै आएका छन्।

औपचारिक अर्थतन्त्र ध्वस्त भएपछि विभिन्न समूहले अनौपचारिक खानीहरूबाट आर्थिक स्रोत जुटाउँदै आएका छन्। यसअघि नै गम्भीर खाद्य संकट र मानवीय विस्थापनको चपेटामा परेको सुडानमा भएको यो नयाँ दुर्घटनाले स्थानीय समुदायलाई थप मर्माहत बनाएको छ। हाल देशका करिब दुई करोडभन्दा बढी नागरिक चरम संकटको सामना गरिरहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको