October 16, 2026, Friday
KN hd tv

भोलिदेखि देशभरका म्यानपावर र वैदेशिक रोजगारीका सम्पूर्ण प्रक्रिया ठप्प हुने

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय तथा वैदेशिक रोजगारसम्बन्धी काम–कारोबार पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। यसअघि नै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङ रोकिसकेको सङ्घले अब श्रमिकको उडानसमेत रोक्ने निर्णयमा पुगेको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतका अनुसार आज राति १२ बजेसम्म सबै प्रक्रिया पूरा भइसकेका श्रमिकहरूको मात्र उडान हुनेछ भने त्यसपछि भने सम्पूर्ण उडान प्रक्रिया बन्द हुनेछ। भोलिदेखि काठमाडौँस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालयहरू बन्द रहनेछन् भने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया पनि ठप्प हुनेछन्।

सङ्घका महासचिव हीराबहादुर डाँगीले सरकारले व्यवसायीका जायज मागहरू सम्बोधन गरी कार्यान्वयनमा नल्याएसम्म आन्दोलनका कार्यक्रम जारी रहने स्पष्ट पार्नुभएको छ। तोकिएका माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि काम–कारोबार अगाडि नबढ्ने सङ्घले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको