बिना जानकारी कार्यक्षेत्रबाट बेपत्ता २३ स्वास्थ्यकर्मी कारबाहीको दायरामा, मन्त्रालयद्वारा १५ दिने अल्टिमेटम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिना जानकारी लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि ड्युटीमा नआएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण माग गर्दै कारबाहीको निसानामा पारेको हो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार चित्तबुझ्दो कारणसहित १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।
तोकिएको समयावधिभित्र सन्तोषजनक जवाफ नदिएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने चेतावनी दिइएको छ। यसरी कारबाहीमा पर्नेहरूमा वीर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र नरदेवीस्थित आयुर्वेद चिकित्सालयका कर्मचारी रहेका छन्।
कारबाहीको सूचीमा नवौँ तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. अमित रौनियार र कन्सल्टेन्ट पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशीसहित विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट र स्टाफ नर्सलगायतका स्वास्थ्यकर्मीहरू रहेका छन्। सरकारी सेवामा रहेर पनि जिम्मेवारीप्रति लापरबाही गर्नेहरूविरुद्ध मन्त्रालयले पछिल्लो समय नियमन र अनुगमनलाई थप कडਾਈ गर्दै लगेको छ।

प्रतिकृया दिनुहोस्