कांग्रेसभित्रै निरङ्कुश प्रवृत्ति मौलायो: डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्र स्थापना र निरङ्कुशता विरुद्ध लडेको पार्टीभित्रै हाल निरङ्कुशताको अभ्यास सुरु भएको गम्भीर आरोप लगाएका छन्। विराटनगरमा आयोजित संस्थापन इतर पक्षको विशेष एकता भेलालाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वप्रति यो कडा टिप्पणी गरेका हुन्।
नेता कोइरालाले वडा सभापतिहरूलाई क्रियाशील सदस्यता अद्यावधिकको बहाना बनाएर मौखिक रूपमा हटाउने प्रवृत्ति बढेकोप्रति तीव्र आपत्ति जनाए। कांग्रेसको जन्म यस प्रकारका गलत प्रवृत्तिका लागि नभएको स्पष्ट पार्दै उनले पार्टीभित्रको वर्तमान कार्यशैली यसैगरी रहे आगामी दिनमा अगाडि बढ्न कठिन हुने चेतावनी दिए।
कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र र अखण्डता समेत कमजोर हुने उल्लेख गर्दै उनले पार्टीमा सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताए। आन्तरिक विवाद समाधानका लागि महामन्त्री गगन थापासँगको परामर्शमा पाँचबुँदे प्रस्ताव पठाइएको भए पनि एक महिना बितिसक्दासང་ संस्थापन पक्षबाट कुनै ठोस पहल नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे। साथै, उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालका सतही प्रतिक्रियाबाट विचलित नहुन आग्रह गरे।

प्रतिकृया दिनुहोस्