जेठ महिनामा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, ६ बैंकले घटाउँदा दुईको बढ्यो
काठमाडौँ । आगामी जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले आफ्नो निक्षेपको ब्याजदरलाई यथावत राखेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ विवरण अनुसार समीक्षा अवधिमा १२ वटा बैंकले ब्याजदरमा कुनै फेरबदल गरेका छैनन् भने ६ वटा बैंकले यसलाई घटाएका छन्। त्यस्तै, दुईवटा बैंकले भने ब्याजदरमा सामान्य वृद्धि गरेका छन्।
ब्याजदर घटाउने वित्तीय संस्थामा एनएमबि, एनआईसी एसिया, हिमालयन, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्। एनएमबि बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.२ प्रतिशत विन्दुले कम गरेको छ भने एनआईसी एसियाले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले कटौती गरेको छ। यसैगरी, हिमालयन र नेपाल बैंकले व्यक्तिगततर्फको ब्याजदर ०.२५ प्रतिशतले घटाउँदा संस्थागततर्फ भने पुरानै कायम राखेका छन्। स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले पनि दुवै प्रकारका निक्षेपमा ब्याजदर केही अंशले घटाएका छन्।
यता, सिद्धार्थ र सिटिजन्स बैंकले भने जेठ महिनाका लागि ब्याजदरमा सामान्य वृद्धि गरेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ ०.०५ प्रतिशत विन्दुले बढाएको छ भने सिटिजन्स बैंकले संस्थागततर्फ ०.५ प्रतिशतले वृद्धि गरेको छ। बाँकी १२ वटा बैंकको ब्याजदर भने वैशाख महिनाकै स्थिर अवस्थामा रहेको छ।

प्रतिकृया दिनुहोस्