सहकार्य र एकतामार्फत देश अघि बढाउन गगन थापाको आह्वान
काठमाडौँ : गगन कुमार थापा ले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको बताएका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गरेका छन्। साथै, शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माणका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
उनले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरण गर्न आवश्यक रहेको उल्लेख गर्दै भविष्यका राष्ट्रिय चुनौतीहरू सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
सभापति थापाले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्न र आर्थिक विकास तथा समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्त्वपूर्ण समय आएको बताएका छन्।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भन्ने कामना गर्दै उनले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्