सलहेश फूलबारीमा नयाँ वर्ष मेला, सुनाखरी फूल हेर्न श्रद्धालुको भीड
काठमाडौँ : सिराहास्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा आज भव्य मेला लागेको छ।
हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ सुनाखरी फूलको दर्शन तथा पूजाअर्चनाका लागि बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघा क्षेत्रफलमा रहेको यस फूलबारीभित्रको हरमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ।
१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने उक्त फूल अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँ भक्तजन आएका छन्।
मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ। तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनोकामना पूरा हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।
श्रद्धालुको अत्यधिक भीडलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीड नियन्त्रणका लागि गस्ती बढाएको छ भने सादा पोसाकका प्रहरी तथा सिसिटिभी क्यामेरामार्फत निगरानीसमेत भइरहेको छ।
यातायात र आवतजावतमा असहजता नहोस् भन्ने उद्देश्यले स्वयंसेवकहरूले सक्रिय रूपमा सहयोग गरिरहेको मेला समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्