नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर उल्लासमय रूपमा मनाइँदै
काठमाडौँ : आजदेखि विक्रम संवत् २०८३ साल प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा लिने गरिन्छ। बैसाख १ गते वर्षको पहिलो दिन भएकाले आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासपूर्वक मनाइँदैछ।
विश्वभर नयाँ वर्ष मनाउने परम्परा रहे पनि नेपालमा बैसाख १ गतेलाई नै नयाँ वर्षका रूपमा मानिँदै आएको छ। विक्रम संवत् विश्वकै प्राचीन संवतहरूमध्ये एक मानिन्छ र आज सोही संवत्को पहिलो दिन हो।
आजको दिन सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई बैसाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ। सूर्यको गतिअनुसार चल्ने भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत रहेको विद्वानहरूको भनाइ छ।
नयाँ वर्षको आरम्भसँगै मानिसहरूले विगत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परा छ।
यस अवसरमा बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मीठा परिकार खाने तथा आफन्त, साथीसङ्गीसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।
देश तथा विदेशमा रहेका नेपालीहरूले आजको दिनलाई विशेष उत्सवका रूपमा मनाउने गर्छन्। भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा मनाइन्छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने भएकाले यसको छुट्टै सांस्कृतिक महत्व रहेको छ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

प्रतिकृया दिनुहोस्