लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
काठमाडौँ । ओमानको अल अमेरातमा सम्पन्न आईसीसी विश्वकप लिग–२ खेलमा नेपालले सनसनीपूर्ण जित हात पारेको छ । अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ओमानलाई १० रनले पन्छाउँदै नेपालले बहुमूल्य २ अङ्क बटुलेको हो ।
२८१ रनको विजयी लक्ष्य पछ्याएको ओमान निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रनमै सीमित भयो । ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन जोडे पनि नेपालको कसिलो बलिङसामु त्यो पर्याप्त हुन सकेन । नेपालका स्पिनर ललित राजवंशी र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २–२ विकेट चट्काउँदै खेलको पासा पल्टाएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले पुरै ५० ओभर खेल्दै २८० रन बनाएको थियो । नेपालका तीन शीर्ष ब्याटरहरूले अर्धशतक प्रहार गरे, जसमा कप्तान रोहित पौडेलले ८० रन, दीपेन्द्रसिंह ऐरीले ६९ रन र देव खनालले ५७ रन बनाए । ओमानका शाह फैसलले ५ विकेट लिएका थिए ।
जितसँगै नेपाल ३६ खेलबाट ३० अङ्कसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यस जितले नेपालको आगामी एकदिवसीय मान्यता सुरक्षित गर्ने अभियानमा ठूलो राहत मिलेको छ ।

प्रतिकृया दिनुहोस्