मदिराको सुरमा गाउँपालिकाको गाडी तोडफोड
हुम्ला–मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। पार्किङ् गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो।
बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन्। मदिराले लठ्ठ मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ । गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् ।
मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासी आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन्। मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेका छन्। उनलाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सदरमुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन्। रासस
प्रतिकृया दिनुहोस्