October 16, 2026, Friday
KN hd tv

इरान युद्धले तय गर्नेछ ट्रम्पको उत्तराधिकारी, भान्स कि रुबियो ?

काठमाडौं । इरान युद्धले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक करियरमा उथलपुथल हुने देखिएको छ । उनको टोलीका दुई प्रमुख अनुहार उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्को रुबियोको राजनीतिक भविष्य पनि यसै संघर्षसँग जोडिएको छ । 

दुवैलाई राष्ट्रपति ट्रम्पको सम्भावित  रूपमा हेरिएको छ । यही कारण इरानसँगको कूटनीतिक वार्ताको केन्द्रमा यी दुवैजना छन् । रिपब्लिकन पार्टीले ट्रम्पपछिको युगबारे अहिलेदेखि नै चर्चा सुरु गरिसकेको छ ।

हालै रिपब्लिकन पार्टीको अवस्था बुझ्न गरिएको एक सर्वेक्षणमा जेडी भान्सले अग्रता हासिल गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सको यो पोलमा सहभागी एक हजार ६०० मध्ये ५३ प्रतिशतले अर्को राष्ट्रपति उमेदवारका रूपमा जेडी भान्सलाई समर्थन गरे । मार्को रुबियो ३५ प्रतिशत समर्थनका साथ दोस्रो स्थानमा रहे । 

यद्यपि, राष्ट्रपति निर्वाचन हुन अझै दुई वर्षभन्दा बढी समय बाँकी छ । इरान युद्धको निष्कर्षले यी दुई वर्षमा रिपब्लिकन पार्टीको राजनीतिलाई निकै प्रभाव पार्ने मानिएको छ ।

जेडी भान्स हाल इरान युद्धलाई लिएर निकै सतर्क देखिएको बताइएको छ । उनी लामो समयदेखि वैदेशिक सैन्य हस्तक्षेपप्रति संशय व्यक्त गर्दै आएका छन् । उनको यो सोच हालैका टिप्पणीहरूमा पनि झल्किन्छ । 

अर्कोतर्फ, रुबियोले खुलेर ट्रम्पको रणनीतिको बचाउ गर्दै आफूलाई सरकारी अभियानको सबैभन्दा प्रखर अनुहारका रूपमा स्थापित गरेका छन् । ट्रम्पले इरानमाथि दबाब बढाउने प्रयासमा यी दुवैलाई सहभागी गराएका छन्  । ट्रम्पले इरानसँग उसको परमाणु र मिसाइल कार्यक्रम अन्त्य गर्न तथा होर्मुज जलमार्गमा तेल यातायात सुचारु गर्न माग गरिसकेका छन् ।

उत्तराधिकारी तय गर्न इरान युद्ध निर्णायक

सन् २०२८ को अमेरिकी राष्ट्रपति निर्वाचन अझै टाढा भए पनि डोनल्ड ट्रम्पले आफ्ना निकटवर्तीहरूसँग कमान्ड कसको हातमा सुम्पिने, जेडी कि मार्को ? भनी सोध्न थालेका बताइएको छ । 

रिपब्लिकन रणनीतिकारहरूको मान्यता के छ भने, युद्धको परिणामले दुवै नेताको भविष्य तय गर्न सक्छ । यदि युद्ध चाँडै टुंगिएमा यसलाई कूटनीतिक सफलता मानिने र रुबियोको छवि बलियो हुने बताइएको छ ।

तर, युद्ध लामो समयसम्म चलेमा जेडी भान्सलाई उनी ट्रम्प समर्थक मतदाताको ‘युद्ध विरोधी’ भावनाको बढी नजिक भन्न सकिन्छ । यसका लागि उनले राष्ट्रपतिसँग खुला असहमति जनाउनु पनि पर्नेछैन ।

त्यसो त डोनाल्ड ट्रम्पको आफ्नै लोकप्रियता पनि दाउमा छ । हालैको सर्वेक्षणमा उनको रेटिङ घटेर ३६ प्रतिशतमा झरेको छ, जसले इरान युद्ध र बढ्दो इन्धनको मूल्यप्रति जनताको असन्तुष्टि संकेत गर्छ । 

रिपब्लिकन खेमामा ट्रम्प कसको पक्षमा ढल्किएका छन् भन्ने चर्चा पनि छ । राष्ट्रपति ट्रम्प रुबियोसँग बढी सहज देखिन लागेको कतिपयले बताएका छन् । 

अन्य दाबेदारहरूको उदय हुन सक्ने

जेडी भान्स र मार्को रुबियो दुवैको राजनीतिक यात्रा रोचक छ । कुनै समय आफूलाई ट्रम्पविरोधी भन्ने भान्स अहिले उपराष्ट्रपति छन् । र, इरान मामिलामा ट्रम्पकै लाइनलाई समर्थन गरिरहेका छन् । प्रशासनका अनुसार, दुई नेताबीच कुनै टकराव छैन । बरु भान्सको संशयपूर्ण सोचले राष्ट्रपतिलाई युद्धबाट टाढै रहन चाहने वर्गको नाडी छाम्न मद्दत पुर्‍याउने बताइएको छ ।

अर्कोतिर रुबियोले पनि सन् २०२८ को मैदानमा भान्स नउठेको खण्डमा मात्र आफू चुनावमा उत्रने सन्देश दिएका छन् । तर, युद्ध लम्बिँदै गएमा वा भान्समाथि दबाब बढेमा रिपब्लिकन दाबेदारहरूको सूची अझ लामो हुन सक्छ । यसैबीच, ट्रम्पले दुवैलाई एउटै टिममा चुनाव लडाउने विचार पनि अघि सारेका छन् । यस्तो जोडीलाई हराउन मुस्किल हुने उनको दाबी छ ।

निष्कर्षमा, इरान युद्ध अब केवल विदेश नीतिको विषय मात्र रहेन । यो त रिपब्लिकन पार्टीको आगामी पुस्ताको राजनीति तय गर्ने एउटा महत्त्वपूर्ण मोड बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको