October 18, 2026, Sunday
KN hd tv

इन्जिनियरदेखि मन्त्रीसम्म : सुनील लम्सालको राजनीतिक यात्रा

काठमाडौं : रुपन्देही-१ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुन् । २०४७ असोज १८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–बिर्घामा जन्मिएका लम्साल २०५२ सालदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा परिवारसहित बसोबास गर्दै आएका छन्।

सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किएका लम्साल बुवा बोधराज लम्साल र आमा जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान हुन् । उनले विद्यालय तहको अध्ययन भलबारीमै पूरा गरेका हुन् भने उच्च शिक्षा पनि लुम्बिनी इन्जिनियरिङ कलेजबाट हासिल गरेका हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका लम्साल एमाले निकट विद्यार्थी संगठनमार्फत आबद्ध भएका थिए । अनेरास्ववियुबाट सोही क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

शैक्षिक योग्यता र प्राविधिक अनुभव

लम्सालले सिभिल इन्जिनियरिङमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। हाल काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गरिरहेका छन्।

प्राविधिक दक्षता, राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा संलग्नता र सहरी विकास तथा वातावरण व्यवस्थापनसम्बन्धी अध्ययन–अनुसन्धानमा उनको अनुभव रहेको छ।

विसं २०७९ को स्थानीय तह निर्वाचनपछि उनले काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए । फोहर व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नगरी वातावरणीय सन्तुलन, जनस्वास्थ्य र मानवअधिकारसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै आएका छन्। दीर्घकालीन र वैज्ञानिक समाधान आवश्यक रहेको उनले जोड दिएका छन्।

राजनीतिक भूमिका र प्राथमिकता

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका लम्साल संगठन व्यवस्थापन, अभियान सञ्चालन र नीतिगत एजेन्डा अघि बढाउने भूमिकामा सक्रिय छन् ।

सुशासन, गुणस्तरीय पूर्वाधार र युवा सशक्तीकरणमा जोड दिँदै उनले पारदर्शी सार्वजनिक सेवा प्रणाली विकास गर्नुपर्ने धारणा राख्दै आएका छन्। प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता उनको छ।

पूर्वाधार विकासका सन्दर्भमा ‘मौसमी सडक’को अवधारणाबाट बाहिर निस्कनुपर्ने र गुणस्तर मापदण्ड कडाइका साथ लागू नगरेसम्म दिगो विकास सम्भव नहुने उनको तर्क छ।

शीर्ष समाचार

धेरै पढिएको