October 18, 2026, Sunday
KN hd tv

‘टीओबी’को बयान : विखण्डनकारी गतिविधिमा संलग्नता अस्वीकार

काठमाडौं : जेन्जी आन्दोलनका क्रममा चर्चामा आएका ‘टिबेटन ओरिजिनल ब्लड’ (टीओबी) अर्थात् ‘द ओरिजिनल ब्रदर’ समूहका संस्थापक अध्यक्ष तेन्जिन दावा लामाले आफू विखण्डनकारी नभएको बताएका छन्।

उनले कार्की आयोगसमक्ष दिएको बयानमा आफू र आफ्नो समूह कुनै पनि राजनीतिक एजेन्डा वा विखण्डनकारी गतिविधिमा संलग्न नरहेको दाबी गरेका हुन्।

लामाले आफू कपनमा बस्ने ट्याटु आर्टिस्ट भएको र टीबेटन मूलको परिवारमा हुर्किएका कारण भावनात्मक रूपमा मात्र ‘टीबेटन ओरिजिनल ब्लड’ शब्द प्रयोग गरेको बताएका छन्। टीओबी दर्ता भएको संस्था नभई केवल एउटा शब्द मात्र भएको र ‘द ओरिजिनल ब्रदर’ नामक मोटरसाइकल क्लब सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन्।

आन्दोलनमा सहभागी हुनुको कारणबारे उनले भदौ २३ गते सामाजिक सञ्जाल र साथीभाइको सल्लाहमा भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन बिजुलीबजार पुगेको बताएका छन्। प्रदर्शनका क्रममा ‘मेरो देश मेरो शान’ जस्ता नारा लगाएको र कसैलाई उत्तेजित पार्ने काम नगरेको उनको भनाइ छ।

प्रदर्शनकै क्रममा टाउकोमा ढुंगा लागेर घाइते भएपछि तत्काल उपचारका लागि फर्किएको र हिंसात्मक गतिविधिमा आफ्नो संलग्नता नरहेको उनले बयानमा उल्लेख गरेका छन्।

लामाले आफू र आफ्नो परिवारसँग काठमाडौं जिल्ला प्रशासनबाट जारी नेपाली नागरिकता रहेको स्पष्ट पार्दै एक चीन नीति र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। साथै, कुनै विदेशी संस्थासँग सम्बन्ध नरहेको र टीओबी अंकित ज्याकेट संयोगवश लगाएको दाबी गरेका छन्।

आन्दोलनपछि सामाजिक सञ्जालमा फैलिएको नकारात्मक प्रचारका कारण आफूले मानसिक तथा सामाजिक तनाव भोग्नुपरेको उनले बताएका छन्। भ्रमपूर्ण समाचारका कारण डेराबाट निकालिएको र व्यवसाय समेत संकटमा परेको उल्लेख गर्दै उनले सामान्य जीवन जिउने वातावरण सुनिश्चित गरिदिन आयोग र राज्यसँग माग गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको