अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ : विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ।
नेपालमा रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा, संस्कृति र नेपाली माटोप्रतिको आत्मियता प्रगाढ बनाउन र नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न यस निर्णय गरिएको हो, जुन अध्यागमन विभागले जानकारी दिएको छ।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ।
यसका लागि विश्वभरका नेपाली मूलका नागरिकहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूलाई सम्मानित भएको महसुस गरेका छन्। यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ।”

प्रतिकृया दिनुहोस्