October 17, 2026, Saturday
KN hd tv

मुस्ताङमा छैटौँ पटक हिमपात : किसान र पशुपालकलाई राहत

काठमाडौँ : मुस्ताङमा जारी सिजनको छैटौँपटक हिमपात हुँदा स्थानीय किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ। यस वर्ष अनुकूल समयमा पटक–पटक हिउँ परेकाले उनीहरूले सकारात्मक प्रभाव महसुस गरेका छन्।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रका विभिन्न स्थानमा भारी हिमपात भएको हो। घरपझोङ र थासाङ गाउँपालिकाका उच्च लेकमा हिमपात हुँदा बस्ती क्षेत्रमा भने वर्षा भएको जनाइएको छ।

भारी हिमपातपछि माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका उच्च लेकका चरन क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिएका छन्। मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङका बस्ती क्षेत्रसमेत हिउँले ढाकिँदा खेतीयोग्य जमिनमा असर परेको छ।

घरपझोङ गाउँपालिका–५ ठिनीमाथिको उच्च लेक क्षेत्र पनि पूरै सेताम्मे भएको छ। स्थानीय पशुपालक किसान च्याङबहादुर थकालीका अनुसार भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गअन्तर्गत मेसोकोन्दो पास क्षेत्र हिउँले ढाकिएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुने समस्या देखिँदै आएको थियो। यस वर्ष परेको हिउँले पशुपालकलाई राहत दिएको थकालीको भनाइ छ। हुरीबतासबिनाको हिमपातले चरन क्षेत्रमा पर्याप्त घाँस पलाउने अपेक्षा गरिएको छ।

उनका अनुसार विगत तीन वर्षदेखि अनुकूल समयमा हिउँ नपर्दा पशुपालन व्यवसायमा असर परेको थियो। उच्च लेकमा तापक्रम वृद्धि, हिमनदी सुक्ने र पानीका मुहान घट्ने समस्याले पनि चुनौती थपिएको उनले उल्लेख गरे।

अनुकूल हिमपातले वन्यजन्तुको जोखिमसमेत घट्ने अपेक्षा गरिएको छ। चरन क्षेत्रमा पर्याप्त घाँस उपलब्ध हुँदा हिउँ चितुवाका आहारा प्रजाति बस्तीमा झर्ने सम्भावना कम हुने थकालीको भनाइ छ।

यस वर्षको हिमपातले कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ। हिउँ लामो समयसम्म रहँदा जमिनको भित्री तहसम्म पानी पुगेर सिँचाइमा सहयोग पुग्ने भएकाले किसान लाभान्वित भएका छन्।

‘खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदै छ’, उनले भने, ‘यसपटक लगातार छपटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्त्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस्।’

हिमपातले बाली तथा फलफूलमा लाग्ने रोग–कीराको प्रभाव घटाउने भएकाले यसलाई प्राकृतिक विषादीका रूपमा लिइएको छ। यसले स्थानीय किसान उत्साहित बनेका छन्।

पर्यटकीय सिजनमै हिमपात हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ। हिउँ अवलोकन र खेल गतिविधिका लागि आउने पर्यटकको आकर्षण बढ्ने अनुमान गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको