इजरायली आक्रमणमा इरानी रिभोलुशनरी गार्डका प्रवक्ता मारिए
काठमाडौँ : इरानको रिभोलुशनरी गार्ड कोर्प्सका प्रवक्ता अली मोहम्मद नैनी इजरायलको आक्रमणमा मारिएका छन् ।
इरानको अर्धसरकारी तास्निम न्युज एजेन्सीका अनुसार नैनीले सन् २०२४ देखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको मिसाइल उत्पादन केन्द्र ध्वस्त भएको र नयाँ मिसाइल उत्पादन असम्भव भएको दाबी गरेका थिए। उक्त दाबीलाई नैनीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका थिए ।
त्यसको केही समयपछि उनी मारिएको पुष्टि इरानी सरकारी सञ्चारमाध्यमले गरेका हुन्। रिभोलुशनरी गार्डले इजरायललाई पूर्ण रूपमा परास्त नगरेसम्म युद्ध जारी रहने जनाएको छ।
यसैबीच, पश्चिम एसियाका धेरै देशमा शुक्रबार इद मनाइँदै छ भने इरानमा नयाँ वर्ष ‘नाउरुज’ परेको छ। युद्धका कारण उत्सवमा अपेक्षित उल्लास देखिएको छैन।
तेहरानमा भएको आक्रमणको विरोधमा इरानले पश्चिम एसियाका विभिन्न देशतर्फ प्रत्याक्रमण गरिरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्