October 19, 2026, Monday
KN hd tv

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले २०८४ सालमा हुने दुवै निर्वाचन एउटै मितिमा सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन्। उनका अनुसार यसो गर्दा निर्वाचन खर्च घट्ने र प्रक्रिया प्रभावकारी हुने अपेक्षा गरिएको छ।

भण्डारीले आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने र प्रदेशसभा निर्वाचन २०८४ मंसिरमा तय रहेको जानकारी दिए। यी दुई निर्वाचनलाई एउटै समयमा सम्पन्न गर्न सकिए मितव्ययी हुने उनको तर्क छ।

हालको कानुनी संरचनाले संयुक्त निर्वाचन सम्भव नहुने उल्लेख गर्दै उनले करिब १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी नयाँ निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याए। आयोगले उक्त ऐनको मस्यौदा तयार गरी दुई वर्षअघि नै सरकारलाई पठाइसकेको पनि उनले बताए।

उक्त विधेयक हाल गृह मन्त्रालयमा विचाराधीन रहेको उल्लेख गर्दै उनले संसद्ले यथाशीघ्र छलफल गरी पारित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि आवश्यक ऐन–कानुन तयार नभए आचारसंहिता र निर्देशिका निर्माणमा समस्या आउनेछ।

उनले भने, ‘२०८४ मा हुने स्थानीय तहको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा नयाँ कानुन ल्याएर सम्बोधन गर्नुपर्छ । यहाँहरूले आगामी अधिवेशनमा त्यो ऐन ल्याएर निर्वाचन आयोगलाई सक्षम र निष्पक्ष निर्वाचन गर्नको लागि सक्षम संगठन बनाइदिनुपर्छ ।’

भण्डारीले नवनिर्वाचित सांसदहरूलाई २३ र २४ भदौको जेनजी आन्दोलनले प्रभावित बनेको सामाजिक अवस्थालाई सामान्य बनाउनेतर्फ काम गर्न आग्रह गरे। साथै आवश्यक ऐन–कानुन छिटो निर्माण हुने विश्वास पनि व्यक्त गरे।

शीर्ष समाचार

धेरै पढिएको