होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन्।
फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन्। उनले चीनले पनि होर्मुज जलडमरूमध्य खोल्न मद्दत गर्ने आशा व्यक्त गरे। ट्रम्पका अनुसार चीनले प्रयोग गर्ने करिब ९० प्रतिशत तेल यही जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ।
ट्रम्पले आफू र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच बेइजिङमा मार्च अन्त्यतिर तय भएको भेटघाटअघि नै चीनले केही कदम चाल्ने अपेक्षा रहेको बताए। ‘भेटघाट हुन अझै दुई हप्ता बाँकी छ, त्यो लामो समय हो,’ उनले भने।
उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत पनि गरेका छन्, तर यसबारे थप स्पष्ट विवरण भने दिएका छैनन्।
युरोपेली सहयोगीहरूको भूमिकाबारे बोल्दै ट्रम्पले होर्मुज जलडमरूमध्यबाट फाइदा लिने देशहरूले यसलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु ‘उचित’ हुने बताए। युरोप र चीन दुवै खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेको उनले स्मरण गराए।
ट्रम्पले अन्य देशहरूबाट प्रतिक्रिया नआएमा यसले नेटोको भविष्यलाई असर गर्न सक्ने चेतावनी दिए। साथै उनले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूप्रति ‘धेरै नरम’ रहेको टिप्पणी पनि गरे।

प्रतिकृया दिनुहोस्