November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

सडकमा डुल्ने कुकुरको बन्ध्याकरण गर्दै हार्ट नेपाल

पर्वत – सडकमा भौतारिरहेका कुकुरले हैरान पारेको भन्दै धेरै ठाउँहरूमा खानेकुरामा विष मिसाएर मार्ने गरिन्छ। सडकमा अलपत्र हुँदै डुल्दै गरेका सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप नदिँदा कुकुरको टोकाइबाट नागरिक जोखिममा परेको कारण मार्ने गरेको नागरिकको भनाइ छ।

तर, जनावरको उद्धार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालले कुकुरलाई मार्नु हुँदैन र यिनीहरूको संख्या पनि नियन्त्रण हुनुपर्छ भन्दै कास्कीको पोखरा महानगरपालिकाभित्र रहेका सडकमा देखिने सामुदायिक कुकुरहरूको बन्ध्याकरणलाई निरन्तरता गर्दै आएको छ। हार्ट नेपालका संयोजक खगेश्वर शर्माका अनुसार कुकुरहरूको संख्या कम गरी रेबिज नियन्त्रण गर्न र पशुको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न पोथी कुकुरको बन्ध्याकरण गर्न हार्ट नेपाल लागिपरेको छ। 

‘हामी मान्छेमा बाँच्न पाउने अधिकार भए जस्तै पशुपक्षीको पनि बाँच्न पाउने अधिकार छ। बेवारिसे कुकुरहरूका कारण रेबिजको जोखिम छ। तर मारेर समस्या समाधान गर्न खोज्नु भन्दा तिनीहरूलाई बचाएरै हामी सुरक्षित हुनुपर्छ। कसैको पनि अधिकार हनन हुनुहुँदैन,’ उनले भने, ‘यही कारण हामीले सडकमा बेवारिसे अवस्थामा हिँडिरहेका पोथी कुकुरहरूलाई लगेर स्थायी बन्ध्याकरण गरेर छोड्ने गरेका छौँ। यसले कुकुरको संख्या न्यूनीकरण गर्छ, बाँच्न पाउने अधिकार सुनिश्चित पनि गर्छ।’ पाँच वर्ष अगाडि चितवनमा इन्जेक्सनको माध्यमबाट कुकुरको बन्ध्याकरण गर्ने प्रयास गरिएको भए पनि त्यो खोपले काम नगरेका कारण अहिलेसम्म शल्यक्रियाको माध्यमबाटै बन्ध्याकरण गर्ने गरिएको हार्ट नेपालले बताएको छ।

हार्ट नेपालले पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा निरन्तर काम गरिरहेको तथा देशका अन्य ठूला सहरमा वर्षमा एक पटक पुगेर काम गर्ने गरेको संयोजक शर्माले बताए। संस्थाले १० वर्षको अवधिमा विभिन्न ठाउँमा गरेर २२ हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण गरेको र ३५ हजारभन्दा बढीमा रेबिजविरुद्धको खोप लगाइसकेको छ। काठमाडौंमा रहेर पशु अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू भएको भए पनि अन्य सहरमा त्यस्ता संस्था नभएकाले सन् २०१० मा पोखरामा हार्ट नेपालले सेवा सुरु गरेको हो।

शीर्ष समाचार

धेरै पढिएको