राष्ट्रपति जेलेन्स्की र ट्रम्पबीच सुरक्षा वार्ता, युक्रेनलाई अमेरिकी सहयोग माग
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको सुरक्षा, सैन्य सहयोग र जारी द्वन्द्वबारे महत्वपूर्ण भेटवार्ता गरेका छन्। उनले वार्तालाई सकारात्मक बताउँदै अमेरिकी आक्रमणबाट इरानको आणविक र ड्रोन कार्यक्रम कमजोर बनाएको भन्दै ट्रम्पलाई बधाई दिएका छन्।
जेलेन्स्कीले एक्समार्फत जानकारी दिँदै भने, “हेगमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भयो, निकै सकारात्मक छलफल भयो। मैले मध्यपूर्वमा अमेरिकाले गरेको सफल कारबाहीका लागि बधाई दिएको छु। इरानको आणविक कार्यक्रम मात्र होइन, उनीहरूको ड्रोन क्षमतामाथि पनि ठूलो असर पुगेको छ।”
वार्तामा युक्रेनले अमेरिकी हवाई प्रतिरक्षा प्रणाली खरिद गरेर आफ्ना शहर, पूर्वाधार, चर्च र नागरिकको सुरक्षा गर्न चाहेको कुरा उठाइएको थियो। युरोपेली मुलुकसँग व्यापक सहकार्यको आवश्यकता रहेको पनि उनले बताएका छन्। दुई नेताबीच युक्रेन र अमेरिका बीच ड्रोनको सह-उत्पादनबारे समेत छलफल भएको हो।
जेलेन्स्कीले इस्तानबुलमा हालै सम्पन्न प्राविधिक बैठकबारे पनि ट्रम्पलाई जानकारी गराएका छन्। उक्त बैठकमा कैदीको आदानप्रदान, मृतकको शव फिर्ता र अन्य मानवीय विषयमा छलफल भएको थियो। उनले रुसले आफ्ना केही सैनिकको शव फिर्ता गरेकाले त्यसको पहिचान प्रक्रिया भइरहेको बताए।
राष्ट्रपति जेलेन्स्कीले युद्धभूमिमा भइरहेको पछिल्लो अवस्थाबारे ट्रम्पलाई स्पष्ट विवरण प्रस्तुत गरेको बताए। उनले भने, “पुटिनले दाबी गरेजस्तो अवस्था छैन। मैले राष्ट्रपति ट्रम्पलाई वास्तविकता के हो भन्ने तथ्यहरू प्रस्तुत गरेको छु।”
जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति आभार व्यक्त गर्दै युक्रेन र अमेरिका बीच सहकार्यलाई अझ मजबुत बनाइने बताए।
यता, दक्षिणपूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु र २०० बढी घाइते भएका छन्। रुसले भोरोनिश क्षेत्रमा दर्जनौं ड्रोन रोकिएको दाबी गर्दै डोनेट्स्क क्षेत्रको डायलिभ्का गाउँ नियन्त्रणमा लिएको जनाएको छ।
यसैबीच, नेटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र आफ्ना कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षा क्षेत्रमा लगानी गर्ने निर्णय गरेका छन्, जसले सैन्य क्षमतामा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ।

लेखकको सम्वन्धमा