October 19, 2026, Monday
KN hd tv

अमेरिकी आक्रमणपछि संयुक्त राष्ट्रसंघको चिन्ता, महासचिव गुटेरेसले कूटनीतिक समाधानको आग्रह

काठमाडौं — इरानका आणविक स्थलमा अमेरिकाले बम हमला गरेपछि संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै कूटनीतिक समाधानको मार्ग अपनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

गुटेरेसले आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमा लेखेका छन्, “म अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति निकै चिन्तित छु। यसले पहिल्यै नाजुक अवस्थामा रहेको क्षेत्रीय तनावलाई झन् चर्क्याउनेछ, जुन अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा हुन सक्छ।”

उनले द्वन्द्व चाँडै नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिँदै यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वभर गम्भीर असर पार्न सक्ने उल्लेख गरेका छन्।

इरानमा अमेरिकाले फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक स्थलहरूमा हमला गरेको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। ट्रम्पले इरान शान्तिको बाटोमा नआए थप ठूला कारबाही हुने चेतावनी पनि दिएका छन्।

संयुक्त राष्ट्रसंघ प्रमुख गुटेरेसले भने, “यस संकटको कुनै सैन्य समाधान छैन। कूटनीति नै एक मात्र बाटो हो, शान्ति नै अन्तिम आशा हो।”

इजरायल र इरानबीच जुन १३ बाट सुरु भएको युद्धका क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २,००० भन्दा बढी घाइते भएको छ। इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० बढी घाइतेको पुष्टि भइसकेको छ।

शीर्ष समाचार

धेरै पढिएको