कास्कीका ठूला आयोजनामा कोरोनाको प्रभाव
कास्की– कोरोना भाइरस सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि गत वर्षको चैत ११ देखि आह्वान गरिएको देशव्यापी बन्दाबन्दीका कारण कास्की जिल्लामा विकास निर्माणका काम प्रत्यक्ष प्रभावित भएका छन् ।
नेपालमा प्रायः आयोजनाका काम आर्थिक वर्षको अन्त्यमा आएर शुरु गर्ने परम्परा नै बसिसकेको र गत आर्थिक वर्षको अन्त्यतिरबाट शुरु भएको बन्दाबन्दी लामो समयसम्म कायमै रहेकाले विकास निर्माणका काममा बाधा उत्पन्न भएको छ । यद्यपि, कतिपय पालिकाले भने यस्ता आयोजनाका काम समयमै सम्पन्न पनि गरेका छन् ।
पोखरा महानगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा सङ्घ, प्रदेश तथा स्थानीय सरकारबाट बजेट विनियोजन भएर कार्यान्वयन भइरहेका अधिकांश ठूला आयोजनाको काम प्रभावित बनेको हो । कतिपय योजना भने कोरोना सङ्क्रमणको कहरबीच पनि स्थानीय तहहरूले सम्पन्न गरेका छन् ।
स्थानीय तहबाट सञ्चालित साना खालका पूर्वाधार विकासका आयोजना सम्पन्न भए पनि अन्य ठूला योजनामा भने कोरोनाले नराम्रोसँग प्रभावित बनाएको देखिएको छ ।
विकास निर्माणको काम मुख्य समयमै रोकिँदा विकास आयोजना प्रभावित बनेको हो । नेपालमा फागुनदेखि जेठसम्मको समय पूर्वाधार विकासको मुख्य समयका रुपमा रहेको छ । अघिल्लो वर्ष चैतको दोस्रो सातादेखि बन्दाबन्दी आह्वान भएलगत्तै परियोजनास्थलमा कार्यरत मजदूर अलपत्र भएपछि सरकारले नै उनीहरुलाई वैकल्पिक व्यवस्था गरेर घर फिर्ता पठाएको थियो ।
घर फर्किएका मजदूर भदौ पहिलो सातासम्म पनि निर्माणस्थलमा नआउँदा ठूला आयोजनाको काम रोकिएकामा भदौ दोस्रो सातापछि भने आंशिकरुपमा काम अघि बढेका थिए । स्थानीय तहले उपभोक्ता समूहमार्फत गरेका धेरैजसो योजना भने स्थानीय मजदूरको प्रयोगबाट सम्पन्न गरिएका छन् ।
कास्कीको मादी गाउँपालिकामा कोरोना भाइरसका कारण सिर्जित आर्थिक तथा स्वास्थ्य सङ्कटबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावले पालिकालाई प्राप्त हुने सङ्घीय सरकार तथा प्रदेश सरकारको समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा पालिकाको आन्तरिक आयमा समेत प्रभाव पारेको छ । पालिकाबाट सञ्चालित योजना तथा कार्यक्रममा कोरोनाले असर पुर्याएको छ ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गाउँपालिकाबाट सञ्चालित विकासका योजना भने झण्डै शतप्रतिशत सम्पन्न भएपछि सङ्घ तथा प्रदेश सरकारले ठूला र बहुवर्षीय योजनाको काम भने बन्दाबन्दीले प्रभावित बनाएको बताए ।
प्रतिकृया दिनुहोस्