म्याग्दीमा भेटिए पहिलोपटक लक्षणसहितका कोरोना संक्रमित
म्याग्दी – म्याग्दीमा लक्षणसहितका कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिन थालेका छन्।
घर बिदामा काठमाडौं गएर फर्किएका नेपाली सेनाका एकजना जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पहिलोपटक म्याग्दीमा लक्षणसहितका संक्रमित भेटिएका हुन्।जिल्लामा हालसम्म निको भएका र आइसोलेसन कक्षमा रहेका चार जना संक्रमितमा लक्षण देखिएको थिएन। तर, अवस्थामा सेनाका अधिकृतमा लक्षणसहितको संक्रमण देखिएका कारण देशभित्रबाटै आवतजावत गर्नेहरूबाट कोरोना समुदायमा फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।
‘कडा लक्षण सहितका संक्रमितहरू देशभित्रै छन्,अब देशबाहिर भन्दा भित्रबाट जिल्लामा प्रवेश गर्नेहरूलाई निगरानी गर्नुपर्छ,’ प्रमुख लम्सालले भने। छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको तराईका जिल्ला र समुदायमै कोरोना फैलिएको काठमाडौं उपत्यकाबाट आउनेमा लक्षण देखिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए। नयाँ संक्रमितमा लक्षण देखिन थालेपछि अब काठमाडौंबाट आउने यात्रुलाई मालढुंगा आसपासबाटै कडा निगरानीका साथ होल्डिङ सेन्टरमा ल्याउनुपर्ने केसीको भनाई छ।
काठमाडौं लगायतका जिल्लाबाट म्याग्दी आएकाहरू समेत मालढुंगाबाट सवारीसाधन परिवर्तन गरी होल्डिङ सेन्टरमा जानबाट पन्छिँदै आएको र समुदायसम्म पुग्न थालेको अवस्थामा लक्षण सहितको संक्रमति भेटिएकाले थप सर्तकता आवश्यक रहेको बताइएको छ।
संक्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता लक्षणहरू देखिएमा सम्पर्कमा रहेकालाई समेत संक्रमण हुने जोखिम अत्यधिक रहने चिकित्सकको भनाइ छ।
प्रतिकृया दिनुहोस्