नेपालमा रेल सेवा विकासका लागि कोरियन कम्पनीको चासो, प्रधानमन्त्री ओलीसँग छलफल
काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी ‘कोरिया रेलरोड कर्पोरेसन’ (KORAIL) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हान मुुन ही नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रेल सेवा विस्तारका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा कोरियन टोलीले नेपालमा रेलवे निर्माण तथा सहकार्यका लागि इच्छाशक्ति व्यक्त गरेको हो। १२६ वर्षे अनुभव बोकेको कोरियन कम्पनीले नेपालसँग मिलेर आधुनिक रेल पूर्वाधार निर्माणमा साझेदारी गर्न चाहेको जनाइएको छ।
भेटका क्रममा ‘स्काइ वाक’ कम्पनीले प्रस्तावित चतराधाम–चौरीखर्क ‘एभरेष्ट रेलवे प्रोजेक्ट’को एनिमेसन भिडियो पनि प्रस्तुत गरिएको थियो।
छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले जनकपुर–कुर्था रेल सेवा सञ्चालन भइसकेको जानकारी गराउँदै अन्य सम्भावित क्षेत्रका लागि अध्ययन भइरहेको र कोरियन सहकार्य सकारात्मक हुने विश्वास व्यक्त गरे।
कोरियन प्रतिनिधिमण्डलले यसअघि भौतिक पूर्वाधार मन्त्रालय र लगानी बोर्डसँग भएको छलफलका आधारमा रेलवे निर्माण तथा सहकार्यका लागि संयुक्त कार्य समूह गठन गरी सम्भाव्यता अध्ययन गर्न सहमति भइसकेको जानकारी गराएको छ।

लेखकको सम्वन्धमा