अमेरिका–साउदीबीच १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता, इतिहासकै ठूलो सहमति
काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा भएको उक्त सम्झौतालाई इतिहासकै ठूलो रक्षा सम्झौता भनिएको छ।
ह्वाइट हाउसका अनुसार सम्झौतापछि साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा कम्पनीहरूबाट अत्याधुनिक युद्धसम्बन्धी उपकरण र सेवाहरू प्राप्त गर्नेछ। सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले हस्ताक्षर गरेका हुन्।
सम्झौतामा वायुसेनाको उन्नयन, अन्तरिक्ष क्षमता विस्तार, हवाई तथा क्षेप्यास्त्र सुरक्षा, समुद्री तथा तटीय रक्षा, सीमा सुरक्षा, स्थलसेनाको आधुनिकीकरण र सूचना तथा सञ्चार प्रविधिको स्तरोन्नति लगायतका विषय समेटिएका छन्।
यसबाहेक, दुई देशबीच ऊर्जा, खनिज स्रोत र संक्रामक रोग नियन्त्रणका क्षेत्रमा समेत सहकार्य हुने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हस्ताक्षरको क्रममा ट्रम्पले साउदी युवराज एमबीएसलाई ‘साथी’ भनेर सम्बोधन गरेका थिए। साउदी अरबले अमेरिकामा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ।
हाल साउदीले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तथ्यांक केन्द्रहरूमा मात्र २० अर्ब डलर लगानी गरिसकेको छ। त्यस्तै, अमेरिकी प्रविधि कम्पनीहरूसँग मिलेर रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने घोषणा गरिएको छ।
साथै साउदी अरबले १४ अर्ब २० करोड डलर बराबरको ग्यास टर्बाइन तथा ऊर्जा समाधान उपकरण र ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान खरिद गर्ने भएको छ।
गत २० जनवरीमा राष्ट्रपति ट्रम्पले पदभार सम्हालेपछि साउदी युवराज एमबीएसले टेलिफोन संवादमार्फत आगामी चार वर्षभित्र अमेरिकामा ६ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिकृया दिनुहोस्