October 19, 2026, Monday
KN hd tv

चिनियाँ लडाकु विमानले भारतीय राफेल खसाल्दा विश्वभरको रक्षा उद्योगमा तरंग

काठमाडौं । पाकिस्तानले प्रयोगमा ल्याएको चिनियाँ लडाकु विमान जे–१०ले भारतीय राफेल विमानलाई हवाई भिडन्तमा खसाल्दा विश्वभरको रक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ। वाशिङ्टन एक्जामिनर र रोयटर्स जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उद्धृत गरेका विवरणअनुसार चिनियाँ विमानको यो विजयले पश्चिमी रक्षा उद्योगमा चासो र चिन्ता दुवै बढाएको छ।

बुधबार बिहान भारत र पाकिस्तानबीच भएको यो मुठभेडलाई आधुनिक इतिहासको एक महत्वपूर्ण हवाई युद्धको रूपमा हेरिएको छ। पाकिस्तानले चिनियाँ जे–१० विमान र पीएल–१५ हावा–देखि–हावामा मार गर्ने मिसाइल प्रयोग गरी फ्रान्समा निर्मित भारतीय राफेल विमान खसालेको दाबी गरेको छ।

राफेल विमान पहिलो पटक युद्धमा खसेको हो भने, जे–१० को पनि युद्धमा पहिलो सफलता हो। जे–१० विमान चीनले सन् २००४ मा उत्पादन सुरु गरे पनि यो पहिलोपटक युद्धमा प्रयोग भएको हो। यसले चिनियाँ रक्षा उद्योगलाई अन्तर्राष्ट्रिय मान्यता र आत्मविश्वास दिलाएको बताइएको छ।

दुबै विमान ४.५ पुस्ताका लडाकु विमान हुन्, जसलाई अमेरिकी एफ–१६ वा एफ/ए–१८ को समकक्ष मानिन्छ। पाकिस्तान सरकारले एक्समा पोस्ट गर्दै राफेलको पराजयलाई “भारतीय वायुसेनाको ऐतिहासिक हार” भनेको छ।

युद्धको प्रभाव सेयर बजारमा समेत देखिएको छ। चिनियाँ विमान निर्माता कम्पनी एभिक चेंग्दु एयरक्राफ्ट को सेयर मूल्य ३६ प्रतिशतले उकालो लागेको छ भने राफेल निर्माता डसाल्ट एभिएशन को सेयर १.६४ देखि ५ प्रतिशतसम्म घटेको युरेसियन टाइम्स को रिपोर्टमा उल्लेख छ।

विश्लेषकहरूका अनुसार युद्धमा मिसाइलहरूको भूमिका अत्यन्त निर्णायक रह्यो। पाकिस्तानले पीएल–१५ मिसाइल प्रयोग गरेको र भारतले युरोपेली मेटेओर मिसाइल चलाएको जनाइएको छ। पीएल–१५ मिसाइलले कम्तीमा तीनवटा भारतीय विमान खसालेको र पाकिस्तानको कुनै विमान नझरेको दाबी गरिएको छ।

पाकिस्तानी अधिकारीहरूले आक्रमण सुरुआत भारतीय पक्षले गरेको र आफ्नो विमानहरूले त्यसपछि मात्र प्रतिक्रिया जनाएको बताए। उनका अनुसार यदि निर्देशन फरक हुन्थ्यो भने १०–१२ विमान खस्न सक्थे।

यी घटनाले लामो समयदेखि चिनियाँ हतियारको क्षमताप्रति उठ्दै आएका शंका हटाउने संकेत दिएको विश्लेषकहरूको भनाइ छ। अमेरिकी रक्षा विज्ञहरू समेतले पीएल–१५ मिसाइलप्रति चासो राख्दै आएका छन्।

भारतीय अधिकारीहरूले सार्वजनिक गरेका अवशेषहरूले कम्तीमा एक राफेल विमान पीएल–१५ बाट खसेको पुष्टि गर्ने देखिन्छ। अर्को मिसाइल सुरक्षित अवस्थामा फेला परेको र त्यसको तस्बिर पनि सार्वजनिक गरिएको छ।

सीएनएनलाई पाकिस्तानी सुरक्षा स्रोतले बताएअनुसार यो मुठभेड हालसम्मकै ठूलो हवाई भिडन्त थियो, जसमा झन्डै १२५ विमानले एक घण्टासम्म भाग लिएका थिए। दुवै पक्षले सीमा पार नगरी टाढाबाट क्षेप्यास्त्र प्रहार गरेका थिए।

यो भिडन्त भारत र पाकिस्तानले आफ्ना वायुसेनामा नयाँ प्रविधि थपेपछि पहिलोपटक भएको हो। सन् २०१९ मा भएको अन्तिम भिडन्त पुराना विमानहरूबीच भएको थियो। अहिले पाकिस्तानले आधुनिक जे–१० प्रयोग गरे पनि अद्यावधिक गरिएका एफ–१६ यस भिडन्तमा सहभागी थिएनन्।

जे–१० को सफलतापछि चीनले आफ्नो हतियार निर्यात बढाउने सम्भावना देखिएको छ। युरोपियन टाइम्स का अनुसार उज्बेकिस्तानले जे–१० र राफेलबीच छनोट गर्ने तयारी गर्दैछ भने इजिप्टले पनि जे–१० खरिद गर्न चासो देखाएको छ।

सामाजिक सञ्जालमा चिनियाँ प्रयोगकर्ताहरूले भारतीय पराजयमाथि व्यङ्ग्य गर्दै भिडिओहरू पोस्ट गरेका छन्। विश्लेषकहरूका अनुसार मित्र राष्ट्रबीच हुने यस्ता भिडन्तहरू रक्षा प्रविधिको परीक्षण थलो बन्ने गर्दछन्—जसरी शीतयुद्धमा अमेरिका र सोभियत संघले गरेका थिए।

हाल चीन र अमेरिका बीच ताइवानको सन्दर्भमा सम्भावित युद्धको चर्चा भइरहेका बेला भारत–पाकिस्तानको यो भिडन्तले चिनियाँ हतियारको प्रभावकारिता प्रत्यक्ष देखाएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको