October 25, 2024, Friday
KN hd tv

पीएन क्याम्पसका प्रमुख र सहायकलाई प्राध्यापकद्धारा क्याम्पस प्रवेशमा रोक

पर्वत – आफ्ना माग सुनुवाइ नभएको भन्दै गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसका प्रमुख र सहायक प्रमुखलाई आंशिक प्राध्यापकहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन्‌।

२०७६ माघ २० गते आन्दोलनरत आंशिक प्राध्यापक र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि प्राध्यापक डाक्टर ओमप्रसाद बराल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भएको सहमति अनुसारका कामहरू पूरा नगरेका कारण फेरि पनि आन्दोलनमा जानुपरेको आंशिक प्राध्यापकहरूले बताएका छन्।

आंशिक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई समितिका अध्यक्ष सुनिल गौतमले पटक-पटक भएका सहमतिलाई लत्याउने गरेका कारण क्याम्पस प्रमुख र सहायक प्रमुखलाई आफ्ना माग सुनुवाइ नभएसम्म गेटबाट छिर्नै नदिने गरी आन्दोलन थालिएको बताए। ‘गत माघ २० गते त्रिभुवन विश्वविद्यालयबाट आएको प्रतिनिधिमण्डलको टोलीसँग वार्ता भयो। सहमति कार्यान्वयन तत्कालै गर्ने भन्ने पनि भयो। यस्ता सहमति त्यस अगाडि पनि पटक पटक भएका छन्। तर कार्यान्वयनमा आउँदै आएनन्।’ उनले भने, ‘यस अगाडि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो। तर मागको सुनुवाइ भएन। अहिले क्याम्पसको मूल गेटमा नै धर्नामा बसेर क्याम्पस प्रमुख र सहायक प्रमुखलाई भित्र छिर्नै दिएका छैनौँ।’

कार्यरत आंशिक प्राध्यापकहरूले १५ वर्षदेखि आफूहरूमाथि आर्थिक, बौद्धिक तथा मानसिक रूपमा चरम शोषण भइरहेको आरोप लगाउँदै आएका छन्।आफूहरूलाई शिक्षण सहायक (त्रिवि करार) पदमा परिणत गरिनुपर्ने माग राखेर १४ वर्षदेखि आन्दोलन भइरहेको भए पनि वास्ता नगरिएको उनीहरूको भनाई छ। आंशिक प्राध्यापक सङ्घका उपाध्यक्ष प्रकाशचन्द्र रेग्मीले आन्दोलनको सुनुवाइ गरेर आफ्ना मागहरू पूरा नभएसम्म अहिलेको आन्दोलन जारी रहने र बेवास्ता गरिएमा अन्य कर्मचारीलाई समेत भित्र छिर्न नदिने अवस्था आउन सक्ने बताए।

‘हामी गेटमा धर्नामा बसेर उहाँहरूलाई भित्र छिर्न नदिनुको अर्थ हामीहरूको समस्या समाधान गरेर मात्रै भित्र छिर्नुहोस् भनेको हो,’ उनले भने, ‘यस अगाडि जस्तै हामीलाई बेवास्ता गर्ने र ०७६ माघ २० को सहमति कार्यान्वयन नगर्ने हो भने अन्य विभागका प्रमुख र कर्मचारीलाई पनि भित्र छिर्न दिने छैनौँ।’ 

शीर्ष समाचार

धेरै पढिएको