बेलायती राजाका सामु नेपालका राजदूत घिमिरेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं । संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाल सरकारका राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
बिहीबार अपराह्न बकिङ्घम राजप्रासादमा आयोजित विशेष समारोहमा उनले आफ्नो नियुक्तिपत्र प्रस्तुत गरेका हुन्। प्रमाणपत्र पेश गरेपछि भएको शिष्टाचार भेटमा बेलायती राजा चार्ल्सले विभिन्न समयमा भएका नेपाल भ्रमणको स्मरण गर्दै नेपाल–बेलायत सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे।
राजाले दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध सुमधुर र आपसी हितमा आधारित रहेको उल्लेख गर्दै नेपालप्रति बेलायत सरकारको प्राथमिकता यथावत रहेको जानकारी दिएका थिए।
शिष्टाचार भेटमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजा चाल्र्सको सुस्वास्थ्य, सुख र बेलायती जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा राजदूत घिमिरेकी पत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद तथा बेलायती विदेश मन्त्रालयका अधिकारीहरू र लण्डनस्थित नेपाली दूतावासका वरिष्ठ कूटनीतिज्ञहरू पनि उपस्थित थिए।

प्रतिकृया दिनुहोस्