October 17, 2026, Saturday
KN hd tv

पोखराका तीन वडामा ठूला खानेपानी आयोजना निर्माण, पाँच हजार घरपरिवार लाभान्वित हुने

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–११, २१ र ३३ मा तीनवटा ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन्। पोखरा–११ मा जलवायु अनुकूलित काँहुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ मा केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको हो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरा, पोखरा महानगरपालिका र तिनै आयोजनाका उपभोक्ता समितिबीच बिहीबार त्रिपक्षीय समझदारी भएको छ।

कुल एक अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लागत अनुमान गरिएको ती आयोजनामा संघीय आयोजनाले ९० प्रतिशत र पोखरा महानगरपालिकाले १० प्रतिशत खर्च गर्नेछ। चालु आवदेखि आयोजना कार्यान्वयनमा जाने जनाइएको छ।

बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती आयोजनाले करिब २४ सय घरपरिवारलाई सेवा दिनेछ। पोखरेल थोकमा निर्माणाधीन आधुनिक पानी प्रशोधन केन्द्रबाट पानी प्रशोधन गरी ३५ किलोमिटर पाइपमार्फत वितरण गरिनेछ।

काँहुधरहरा आयोजना मार्फत करिब १५०० घरपरिवार लाभान्वित हुनेछन्। यसका लागि काँहुधरहरामा प्रशोधन केन्द्र निर्माण गरी १७ किलोमिटर पाइप लाइन विस्तार गरिनेछ।

मट्टीखान आयोजना अन्तर्गत सेतीखोलाबाट पानी पम्प गरी स्याङ्जाको नुवाकोट हुँदै मट्टीखान क्षेत्रमा वितरण गरिनेछ। करिब १२०० घरपरिवारले सो आयोजना मार्फत पानी पाउनेछन्।

तीनै आयोजनाको लागि आवश्यक स्रोत अर्थ मन्त्रालयबाट आंशिक सुनिश्चित भइसकेको छ। बाँकी रकम पनि क्रमिक रूपमा सुनिश्चित गर्दै आयोजनालाई अघि बढाउने तयारी छ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगरवासीको आधारभूत अधिकारका रूपमा खानेपानी पहुँच सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताए। उनले ‘एक घर, एक धारा’ अभियानलाई सफल बनाउन ठूला आयोजना सञ्चालनमा ल्याइएको बताए।

यी आयोजनाहरु ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाहरु सम्पन्न भएपछि पोखराका पाँच हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।

शीर्ष समाचार

धेरै पढिएको