October 18, 2026, Sunday
KN hd tv

भारतीय विद्युत् मन्त्री खट्टर नेपाल भ्रमणमा, कोशी करिडोर प्रसारण लाइन उद्घाटन गर्ने

काठमाडौं – भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार दुईदिने नेपाल भ्रमणमा आउँदै छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन्। गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई औपचारिक रूपमा आमन्त्रण गरेका थिए।

नेपाल बसाइका क्रममा मन्त्री खट्टरले संखुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर अन्तरगतको २२० केभी प्रसारण लाइन तथा तीनवटा सवस्टेशनको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन हुने संरचनामा ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन, २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, बानेश्वर सवस्टेशन र बसन्तपुर सवस्टेशन रहेका छन्।

त्यसै दिन खट्टरले भारतले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नेछन्। साथै, नेपाल–भारत संयुक्त लगानीमा निर्माण गर्न लागिएको नयाँ प्रसारण लाइनसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षका मन्त्रीहरूले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको दोस्रो दिन वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने र प्रधानमन्त्री केपी शर्मा ओली तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको