October 25, 2024, Friday
KN hd tv

रुकुम पूर्वमा विद्युत् आयोजनाका मजदूरले पाएनन् ज्याला

रुकुम – रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् ।

जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि तिनले ज्याला नपाएका हुन् । सिस्ने – ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गर्नुभयो । अहिलेसम्म ज्याला रकम रु नौ हजार नपाएको उहाँले दुःखेसो पोख्नुभयो । यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतको पीडा पनि चन्द्रकलाको भन्दा केही फरक छैन । उहाँहरु भन्नुहुन्छ, “मामको जोहो गर्न काम गरियो, त्यही कामको दाम पाइएन ।” दैनिक गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत्गृहमा जाने बाटो निर्माणको कामको ज्याला नपाउँदा उनीहरु मर्कामा परेका छन् ।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताउनुभयो । सचिव सार्कीका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुम(पूर्वे)ले रु १७ लाख र सिस्ने गाउँपालिकाले रु ४० लाख गरी जम्मा रु ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो । समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकावाट पनि विद्युत्गृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि रु २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदूरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी गराउनुभयो ।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफुहरुसँग कुनै सम्झौता नभएको बताउनुभयो । त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उहाँको भनाइ छ । विसं २०७२ असारमा काम सम्पन्न भइसकेको आयोजनाले सिस्ने ७ र ८ का साथै रुकुम(पश्चिम)को मुसिकोट नगरपालिका १ छिङका नागारिकलाई उज्यालो दिएको थियो ।

पहिले गाविस हुने बेलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख बजेटमा उक्त विद्युत् आयोजनाको काम सम्पन्न भएको थियो । त्यसमा ३० प्रतिशत जनश्रमदान रहेको गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताउनुभयो ।

यस्तै सिस्ने गाउँपालिकाले पनि तार खम्बा विस्तारका लागि रु १२ लाख विनियोजन गरेको थियो । गाउँमा बिजुली बलेको केही वर्षपछि अर्थात् २०७५ असोजमा विद्युत् उत्पादनगृहमाथिबाट खसेको पहिराले पुरिएपछि विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको